लिपुलेक, लिम्पियाधुरा, र कालापानीमा ‘स्याटलाइट इमेज’ विधिद्वारा जनगणना हुने


काठमाडौं । बुधबारदेखि १२औँ राष्ट्रिय जनगणनाको घर तथा घरपरिवार सूचीकरण सुरु भएको छ । जनगणनामा ७ जेठ २०७७ मा सरकारले जारी गरेको नयाँ नक्सामा समावेश लिम्पियाधुरा, लिपुलेक र कालापानीमा गणना हुन्छ कि हुँदैन भन्ने चासो सर्वत्र छ। केन्द्रीय तथ्यांक विभागले १० वर्षको अवधिमा जनसंख्या ४० लाख बढ्ने अनुमान गरेको छ । दार्चुलाका जिल्ला जनगणना अधिकारी पदमराज पाण्डेले त्यस क्षेत्रमा भौतिक रूपमा जान संभव नभएकाले सूचीकरणका लागि सुपरिवेक्षकहरू नजाने बताए ।
‘नेपाली सेनाको नियन्त्रण क्षेत्रसम्म मात्र हामी सूचीकरण गर्न पुग्छौँ, पाण्डेले भने, नेपाली प्रशासन र नेपाली सेना उपस्थित नरहेका क्षेत्रमा हामी जान सक्दैनौँ । केन्द्रले जान भनी निर्देशन दिन्छ भने हाम्रो जीउ–धनको सुरक्षाको सुनिश्चितता गर्नुपर्छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले यस विषयमा सुरक्षा निकायबीचको छलफल बाँकी रहेको बताए । उनी भन्छन्, ‘गणना कहिले र कसरी सुरु गर्ने भनेर सुरक्षा निकाय तथा प्रशासनबीच छलफल हुन बाँकी नै छ। छलफलको निष्कर्षपछि विभागसँग समन्वय हुनेछ ।’
केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले यस विषयमा नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सुरक्षा निकायबीच छलफल जारी रहेकाले छलफलको निचोडपछि मात्र गणना के कसरी गर्ने भनेर तय हुने बताए । ‘भौगोलिक हिसाबले उक्त क्षेत्र नेपालमा परे पनि प्रशासनिक रूपमा अझै पनि सो क्षेत्र हाम्रो नियन्त्रणमा छैन’, लामिछानेले भने, ‘सुपरिवेक्षकहरू भौतिक रूपमा जान नसकेका अवस्थामा वैकल्पिक विधिको प्रयोग गरेर सूचीकरण गर्नेछौँ।’






















