रौतहटको एक पोखरीमा डुबेर दुई जना बालिकाको मृत्यु


सिताराम साह
रौतहट । असोज ०१ गते । रौतहटको एक पोखरीमा डुबेर दुई जना बालिकाको मृत्यु भएको छ । जिल्लाको देवाही गोनाही नगरपालिका वडा नं. ७ उचिडिहमा रहेको पोखरीमा डुबेर कटहरिया नगरपालिका वडा नं. ६ का रामकलेश महतोको १० वर्षिया छोरी निसु कुमारी महतो र वृन्दावन नगरपालिका वडा नं.२ का जंगबहादुर पटेलको १४ वर्षिया छोरी मुस्कान कुमारी पटेलको मृत्यु भएको हो ।

उचिडिहका वडा अध्यक्ष जगरनाथ मुखियाले निर्माण गरेको पोखरीमा डुबेर दुवै बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । विहिवार दिउँसो २ बजेको समयमा घोंगी टिप्न खोज्दा खुट्टा चिप्लिएर पोखरीमा खस्दा डुबेर दुबै जना बालिकाको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
पोखरीमा दुई जना बालिका डुबेको खबर प्राप्त हुने वित्तिकै इलाका प्रहरी कार्यालय गरुडाबाट गएको प्रहरी टोलीले घटनास्थलमा पुगी पोखरीबाट दुबै जनाको शव बाहिर निकालेको थियो । मुस्कान कुमारी सानैदेखी उचिडिह स्थित आफना मामा घरमा बस्दै आएकी थिईन । निसु र मुस्कान दुबै जना खेल्दा खेल्दै घोंगी टिप्न पोखरीको छेउमा पुगेकी थिइन । पोखरीको छेउमा गएर घोंगी टिप्ने क्रममा दुबै बालिका लडेर पोखरीमा खसेकी थिइन ।
पोखरीमा खसेकी दुबै जना बालिकाको तैरन नजानेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) श्रीराम भण्डारीले बताए । मृतक दुबै जना बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको र घटना बारे अनुसन्धान भइरहेको डिएसपी भण्डारीले बताए ।






















