आज चीनबाट ४४ लाख भेरोसेल खोप नेपाल ल्याईदै

जगत ठाडा मगर
२०७८ अशोज १ | बिहान ०८:०६ बजे

काठमाडौं । सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप आज नेपाल ल्याईंदैछ । खोप ल्याउन गएराति नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलका अनुसार खरिद गरिएको खोप आज चीनबाट नेपाल ल्याइने भएको छ । सरकारले चीनसँग ६० लाख डोज खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको छ ।
निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिनका लागि गएराति ११ बजे वाइडबडी विमान चीनतर्फ गइसकेको बताएका छन् । उनका अनुसार आज दिउँसो २ बजे खोप लिएर जहाज नेपाल आउने छ ।
नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी गरेको छ ।






















