आत्महत्या रोकथाम तथा न्यूनिकरण गर्न मानवअधिकार आयोग शाखा कार्यालय खोटाङद्धारा पत्राचार


खोटाङ । राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश नं. १ शाखा कार्यालय खोटाङले जिल्लामा विकराल रुपमा बढ्दै गएको आत्माहत्यादर रोकथाम तथा न्यूनिकरणका लागि भूमिका निर्वाह गर्न जिल्लास्थित स्थानीय तह तथा प्रहरी प्रशासनलाई पत्राचार गरेको छ ।
आयोगको कार्यालयले जिल्ला समन्वय समिति खोटाङमार्फत स्थानीय तहहरू, जिल्ला स्वास्थ्य कार्यालयमार्फत स्वास्थ्य संघसंस्थाहरू, शिक्षा विकास तथा समन्वय इकाईमार्फत शिक्षण संघसंस्थाहरू, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खोटाङ जिल्ला अदालत बार एशोसिएसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघलाई बिहीबार लिखितरुपमा पत्राचार गरेको हो ।
विश्व आत्महत्या रोकथाम दिवस सेप्टेम्बर १० को अवसरमा यही भदौ २५ गते दिक्तेलमा आयोजित आत्महत्या रोकथाममा सरोकारवालाहरूको भूमिका’ विषयक छलफल कार्यक्रममा आत्महत्या गर्नेको संख्या अधिक देखिएपछि रोकथाम तथा न्यूनिकरणका लागि पत्राचार गरिएको आयोगको शाखा कार्यालय खोटाङका प्रमुख श्यामबाबु काफ्लेले जानकारी दिए ।
‘आर्थिक वर्ष २०७५/०७६ देखि २०७७/०७८ सम्म तीन वर्षमा जिल्लामा पुरुष १०३, महिला ५१, बालक १४ र बालिका सातजनाले आत्महत्या गरेका छन्’, उनले भने, ‘वर्षेनी विकरालरुपमा वृद्धि हुँदै गएको आत्माहत्यादर तत्काल कार्ययोजना बनाएर रोकथाम तथा न्यूनिकरणको भूमिका निर्वाह गर्न आयोगको तर्फबाट सम्बन्धित निकायलाई लिखितरुपमा पत्राचार गरिएको हो ।’






















