देश

स्वदेशी फूलको मालामै यस वर्षको तिहार

जगत ठाडा मगर
२०७७ कार्तिक २१ | बिहान ०८:०७ बजे

काठमाडौं । नेपाली हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहार अर्को सातादेखि सुरु हुँदैछ । तिहार भन्ने बित्तिकै दाजुभाइ–दिदीबहिनीसँगको भेटघाट, बत्तीको झिलिमिली, मिठा परिकार र फूलहरुको रौनक हामी सबैको मानसपटलमा घुम्छ । मलमासका कारण यस वर्षको दशैं–तिहार झण्डै एक महिना पछि सर्न पुग्यो । पर्व पछि सरे पनि प्रकृतिको चक्र त किन सर्थ्यो ? हाम्रा घर–पसल सिँगार्ने, गलामा पहिर्याइदिने मालामा प्रयोग हुने फूलले मखमली मौसमलाई थप रंगिन बनाइदिएका छन् ।

दिदी बहिनीको हातबाट टीका र माला ग्रहण गर्नु तिहारको सबैभन्दा महत्वपूर्ण पाटो हो । जसका कारण तिहार भन्ने बित्तिकै फूलकै चर्चा हुन्छ । यस वर्षको तिहारमा भाइटीका लगाउन आवश्यक फूल नेपालमै फूलेको पुष्प व्यवसायीहरुले बताएका छन् ।

तिहारका लागि देशका ठूला सहरमा खपत हुने फूलहरु पठाउन व्यवसायी तयारी अवस्थामा रहेको नेपाल फ्लोरी कल्चर एशोसिएसनले जनाएको छ । यस वर्ष झण्डै १५ लाख माला बजारमा पठाइने छ ।

कोभिड–१९का कारण तिहारको रौनक कम हुनु र नेपालमै फूल खेती बढ्नु जस्ता कारणले यस वर्ष स्वदेशी फूल र मालाले नै आन्तरिक माग धान्ने एशोसिएसनका अध्यक्ष कुमार कसजु बताउँछन् । ‘यस वर्षको तिहारमा स्वदेशमै फूलेका फूलका माला हाम्रा गलामा झुण्डिनेछन्,’ कसजुले भने ।

मुख्य बजारमा मखमली, सयपत्री र गुर्धौली फूलको माला पठाउनका लागि व्यवसायीहरुले सबै तयारी अन्तिम अवस्थामा पुर्याएको पनि उनले बताए ।

कमेन्टहरु