वीरगन्जमा हुण्डी कारोबारमा संलग्न सुनचाँदी व्यवसायी र कामदार पक्राउ


पर्सा । वीरगन्जमा प्रहरीले हुण्डीको कारोबार गरेको आरोपमा एक सुनचादी व्यवसायीसहित २ जनालाई ठूलो रकमसहित पक्राउ गरेको छ ।
वीरगन्ज ६ माइस्थान चोकमा रहेको केपी ज्वेलरीका संचालक कन्हैयाप्रसाद सोनार र त्यहि पसलमा काम गर्ने बाराको परवानीपुर गाउँपालिका ३ का दिपक कुमार सर्राफलाई ३८ लाख ५१ हजार १ सय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार, केपी ज्वलेरीभित्र हुण्डीको कारोबार भइरहेको सूचना प्रहरीले पाएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले केपी ज्वेलरीमा छापा मारेर खानतलाशी गर्दा स्रोत नखुलेको ३८ लाख ५१ हजार १ सय रुपैयाँ नगद बरामद भएपछि संचालक कन्हैया र त्यहाँका कामदार दिपकलाई नियन्त्रणमा लिएको हो ।
स्रोत नखुलेको नगद रकमसहित पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक पाण्डेले नवलपुर टुडेलाई जानकारी दिए ।






















