मोरङमा कार दुर्घटनामा परि एक जनाको मृत्यु, तीन घाइते


विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकामा भएको कार दुर्घटनामा परेर बिहीबार बिहान एक जनाको मृत्यु भएको छ । बा ११ च १५७१ नम्बरको कार दुर्घटना हुँदा बेलबारीबाट विराटनगरतर्फ आउँदै गरेकी बेलबारी नगरपालिका–१ की ३० वर्षीया चन्द्रकला राईको मृत्यु भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार दुर्घटनामा परेर बिहान ११:३० बजेतिर गम्भीर घाइते भएकी चन्द्रकलाको उपचारका क्रममा मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा परेर कार चालक बेलबारी–१ का ३८ वर्षीय बाबुराम कार्की, बेलबारी–१ की ५५ वर्षीया सानी धिमाल र ४३ वर्षीया गीता लिम्बू घाइते भएको श्रेष्ठले बताए।
मृतक चन्द्रकला र घाइते सानी मुटु सम्बन्धी पुरानै समस्या रहेकी छिमेकी गीता लिम्बूलाई कारमा लिएर उपचारका लागि विराटनगर आउँदै गरेको पाइएको प्रहरीले जनाएको छ । सडकमा गुडिरहेको कार आफैँ अनियन्त्रित भएर कोसी लोकमार्गअन्तर्गत बूढीगंगा–३ स्थित पायनीयर उद्योग अगाडि बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । चालकको अवस्था सामान्य छ । घाइतेहरुको विराट अस्पतालमै उपचार भइरहेको छ । दुर्घटनामा परेर कार पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। घट्ना बारे प्रहरीले अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ।






















