देश

संविधान दिवस मनाउन स्थानीय तहलाई सरकारको परिपत्र

जगत ठाडा मगर
२०७८ भदौ ३१ | मध्यान्ह ०१:०५ बजे

काठमाडौं । सरकारले जिल्ला समन्वय समितिसहितका स्थानीय तह र सबै सरकारी तथा सार्वजनिक निकायलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर असोज २, ३ र ४ गते संविधान दिवस मनाउन परिपत्र गरेको छ ।

संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहसहित विभाग, आयोजना, परियोजना, प्रतिष्ठान र सबै सरकारी तथा सार्वजनिक निकायलाई संविधान दिवस मनाउन परिपत्रमार्फत अनुरोध गरेको हो । परिपत्रअनुसार स्थानीय तहस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालयले राष्ट्रिय झन्डा एवं दिवस केन्द्रित ब्यानर सजाई कार्यालय र परिसर सफाइ गर्नु पर्ने छ ।

स्थानीय तहले सम्बन्धित पालिकाका नागरिकसमेतलाई आ–आफ्नो घरटोल एवं सार्वजनिक स्थलको सफाइका लागि अनुरोध गर्ने, स्थानीय तहभित्रका सरकारी कार्यालय एवं मण्डला, दरबार स्क्वायरजस्ता सार्वजनिक स्थलमा साँझ दीप प्रज्ज्वलन तथा दिपावली गर्ने र पालिकाबासी नागरिकलाई समेत घर–घरमा दिपावली गर्न अनुरोध गर्ने, पालिकाभित्र सञ्चालित स्थानीय छापा तथा विद्युतीय सञ्चार माध्यमबाट संविधानको महत्त्व सम्बन्धी रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम प्रकाशन र प्रसारण गर्ने व्यवस्था मिलाउने कार्यका लागि सरकारले अनुरोध गरेको छ ।

यस्तै, दिवस केन्द्रित रही अन्य सान्दर्भिक तथा उपयुक्त कार्यक्रम आयोजना तथा सञ्चालनको प्रबन्ध गर्न र जिल्लास्थित मठमन्दिर, बुद्धविहार, मस्जिद, गुरुद्वारा, चर्चलगायत धार्मिक स्थानमा पुजारी–धर्मगुरुबाट नित्य धार्मिक अनुष्ठान, संकल्प गर्दा राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता र संविधानका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदको आत्माको चिरशान्तिको कामना एवं उच्च सम्मान तथा श्रद्धा प्रकट गर्दै पूजापाठ तथा प्रार्थनाको पबवन्ध गर्नसमेत परिपत्र गर्न संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

कमेन्टहरु