पिपुल्स भोलेन्टियरका काठमाडौँ जिल्ला अध्यक्ष बुढाथोकी काठमाडौमा पक्राउ

जगत ठाडा मगर
२०७८ भदौ ३१ | बिहान १०:०५ बजे

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट युवा नेतालाई प्रहरीले पक्राउ गरेको छ । रुकुमको सिस्ने गाउँपालिका–५ घर भएका अर्जुन बुढाथोकीलाई बैङ्किङ कसुर मुद्दामा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले बताए ।
उनी नेकपा एकीकृत समाजवादी पार्टी निकट ‘केन्द्रीय पिपुल्स भोलेन्टियर’ काठमाडौँका जिल्ला अध्यक्ष हुन् ।
बुढाथोकीले दिएको ८० लाखको चेक बाउन्स भएपछि पीडितले प्रहरीमा जाहेरी दिएका थिए । उनलाई काठमाडौँको धापासीबाट पक्राउ गरिएको एसपी बस्नेतले बताए ।
खातामा पर्याप्त पैसा नभएको चेक दिएकोबारे अदालतबाट म्याद लिएर काठमाडौँ प्रहरीले अनुसन्धान गरिरहेको छ । बुढाथोकीले दरबारमार्गमा रहेको रोयल क्यासिनोमा फ्लस टेबलमा लगानी गरेको बताइएको छ ।






















