ब्रोडगेज रेल खरिद गरेको एक वर्ष लाग्दा नि आएन संचालनमा

जगत ठाडा मगर
२०७८ भदौ ३१ | बिहान ०९:०५ बजे

जनकपुर । भारतको कोंकण निर्माण कम्पनीसँग सरकारले दुई सेट ब्रोडगेज रेल खरिद गरेको आउदो असोज ३ गते एक वर्ष पूरा हुन्छ ।
पछिल्लो एक वर्षदेखि जनकपुर–जयनगर खण्डको इनर्वा स्टेशनमा दुई सेट रेल थन्क्याएर राखिएको छ । रेल छोप्न प्रयोग गरिएका त्रिपाल च्यातिएर चिराचिरा परिसकेको छ । भारतसँग झन्डै एक अर्ब रुपैयाँ खर्चेर खरिद गरेर ल्याएका रेलहरू खुला आकाशमुनि थन्किएकाले खियासमेत लाग्न थालेको छ ।
रेल्वे ट्रयाकमा प्रयोग गरिएका क्लिपहरू चोरी भइरहेको छ भने नवनिर्मित रेल्वे स्टेशनका झ्यालका सिसाहरू फुटिसकेका छन् र बरण्डा पनि चिराचिरा परेका छन् । तर, रेल कहिलेदेखि संचालन हुने भन्ने अझै टुङ्गो लागेको छैन ।
नेपाल रेलवे कम्पनीका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईले रेल चलाउन पटक–पटक निर्देशन दिएका मितिहरू घोषणामै सीमित रहेका छन् ।






















