दैलेखमा शिक्षक हत्याको आरोपी एक महिला सार्वजनिक


सुर्खेत । दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको हत्यामा संलग्न रहेको भन्दै दैलेख प्रहरीले एक महिलालाई सार्वजनिक गरेको छ ।
दैलेखका प्रहरी प्रमुख डीएसपी अनुपम श्रेष्ठका अनुसार शिक्षक बिसीको हत्या छिमेकी २५ वर्षीया मुना रानाले गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । ‘मुनाले नै शिक्षक बिसीको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको स्वीकार गरेकी छिन्,’ डीएसपी श्रेष्ठले भने ।
गुराँस गाउँपालिका–८, छोटेपोखरीकी रानाले व्यक्तिगत रिसइबीका कारण शिक्षक बिसीको हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ । उनलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि थुनामा राख्न प्रहरीले जिल्ला अदालत दैलेखबाट अनुमति दिइसकेको छ ।
डीएसपी श्रेष्ठका अनुसार मुनाको कोठाबाट धारिलो हतियारसमेत बरामद भएको छ । शिक्षक बिसीको शव मंगलबार बिहान मालिका माविको बरण्डामा फेला परेको थियो । मुनाको घर शिक्षक बिसीको शव भेटिएको ठाउँदेखि ३० मिटर पर छ । मृतक ४२ वर्षीय शिक्षक बिसी मालिका माध्यमिक विद्यालयमा ५६ सालदेखि कार्यरत थिए ।






















