देश

विमला वलीले आफूलाई ‘सिध्याउन’ लागेका भन्दै पोखरेल विरूद्ध दिए उजुरी

जगत ठाडा मगर
२०७८ भदौ ३१ | बिहान ०८:०५ बजे

बुटवल । लुम्बिनी प्रदेशको सांसद विमला खत्री वलीले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र नेकपा एमालेले आफूलाई ‘सिध्याउन’ लागेका भन्दै पोखरेल विरूद्ध उजुरी दिएको बताएकी छन् ।

वलीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा मंगलबार पोखरेलसहित चारजनाविरूद्ध ‘शरीर बन्धक तथा अपहरण’ गरेको आरोपमा किटानी जाहेरी दिएकी छन् । उनले पोखरेल मुख्यमन्त्री रहँदा गत साउन १५ गतेदेखि ५ दिनसम्म आफूलाई दाङबाट ल्याएर मुख्यमन्त्री निवासमा बन्धक बनाएर राखेको दावी गरेकी छन् ।

त्यस घटनामा उनले निवर्तमान मुख्यमन्त्री पोखरेल, लुम्बिनी प्रदेशसभा एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको निजी सचिवालयका तिरन गौतम र एमाले दाङका नेता मानबहादुर रावतविरुद्ध कारबाहीको माग गरेकी छन् । ‘म त्यो बेला मुद्दा मामिला गर्ने पक्षमा थिइनँ’ सांसद वलीले भनिन्, ‘तर पछि मलाई राजनीतिकरुपमा सिध्याउने हिसाबले उहाँहरु लागेपछि बाध्य भएर मुद्दा दर्ता गर्ने निर्णयमा पुगेकी हुँ ।’

आफूले माओवादी केन्द्र रोजेपनि एमालेले आफ्नै पार्टी दावी गर्दै कारवाहीको प्रक्रिया थालेको र छोरालाई उक्साएर अंश मुद्दा दर्ता गरेपछि आफूलाई असह्य भएको ओलीले बताइन् । ‘मलाई उहाँहरूले सिध्याउन हरेक हतकण्डा अपनाउनुभयो, मलाई शान्तसँग बस्नै दिनुभएन’ वलीले भनिन्, ‘अब म पनि चुप लागेर बस्ने अवस्थामा रहिनँ, अब कानुनी लडाईंमै उत्रिएँ ।’

वलीलाई सांसद पदबाट मुक्त गर्न माग गर्दै एमालेले लुम्बिनी प्रदेश सभा वैठक लगातार अवरुद्ध गर्दै आएको छ । रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीले निवर्तमान मुख्यमन्त्री पोखरेलविरूद्ध मुद्दा परेको र उक्त मुद्दा जिल्ला प्रहरी कार्यालय दाङमा पठाएको बताए ।

सांसद वलीले उल्लेख गरेको घटनाको सुरुवात दाङ भएकाले दाङमा पठाइएको एसपीको भनाइ छ । दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले भने दाङमा उजुरी नपुगेको बताए ।

कमेन्टहरु