देश

माधव नेपालको बुद्धिमा लागेर प्रचण्डले आफनो नेतृत्वको सरकार ढाले : केपी ओली

जगत ठाडा मगर
२०७८ भदौ ३० | मध्यान्ह ०५:०५ बजे

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाबाट प्रचण्ड गुटमात्रै अलग भएको बताएका छन् । माओवादी केन्द्रका मुख्य नेताहरू एमाले मै रहेको भन्दै ओलीले माधव नेपालको बुद्धिमा लागेर प्रचण्डले आफनो नेतृत्वको सरकार ढालेको आरोप लगाएका छन् ।

नेकपा एमाले रुपन्देहीले आज बुधवार बुटवल-११ देविनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समाज सेवा केन्द्र बनाएर एमाले अघि बढ्ने बताए । देशभर समाज सेवा केन्द्र बनाएर एमाले नागरिककाे सेवामा तत्पर रहने अध्यक्ष ओलीले बताए ।

ओलीले भने ‘कसैसँग सहयोग गर भनेर जाँदैनौ तर हाम्रो काम देखेर कसैले सहयोग गर्दछ भने अस्वीकार गर्दैनौँ,’ । पूर्वप्रधानमन्त्री ओलीले विकास विरोधी तत्त्वले आफनो सरकारलाई विस्थापित गरिदिएको बताएका छन् । उनले चुनावपछि एमाले सरकारमा आउने र विकासलाई निरन्तरता दिने बताएका छन् ।

कम्युनिस्ट पार्टीका नाममा प्रधानमन्त्री बन्ने मौका पाएका झलनाथ खनाल, माधव नेपाल, प्रचण्डले विकास गर्न नसकेको उनले आरोप लगाए । ‘उनीहरूले गरेनन्, मैले काम गर्छु भन्दा दिएनन्’, ओलीले भने । कार्यक्रममा एमाले उपमहासचिव विष्णु पौडेलले आउँदाे चुनावपछि एमाले पुनः सत्तामा जाने बताएका छन् ।

उनले एमालेबाहेक समृद्धिकाे खाका कसैले पनि कोर्न नसक्ने बताएका छन् । माधव नेपालले नेतृत्व गरेको पार्टीले देशभर एक सिट पनि जित्ने हैसियत नराख्ने नेता पाैडेलले दाबी गरे । पूर्वअर्थमन्त्री समेत बनेका पौडेलले ओली सरकारले ल्याएको लोकप्रिय बजेटलाई प्रतिस्थापन गरेर वर्तमान सरकारले जनविराेधी काम गरेको बताएका छन् ।

अर्का उपमहासचिव घनश्याम भुसालले एमाले भाँडिएको भन्दै समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । ‘गल्ती गर्नेहरू सबैले समीक्षा गरौँ यो कुरा माधव नेपालमा पनि लागू हुन्छ’, उपमहासचिव भुसालले भने । उनले एमालेलाई कमजोर बनाउने र उत्ताउलो बन्ने छुट नभएको बताएका छन् ।

उपमहासचिव भुसालले पार्टीको आउँदाे महाधिवेशनले एमालेलाई साङ्गठनिक रूपमा समेत व्यवस्थित गर्ने बताए । नेता टोपबहादुर रायमाझीले असफल नेताहरूले एमालेलाई घेराबन्दीमा राख्ने प्रयास गरे पनि त्यसलाई चिर्दै अगाडि बढ्न सक्षम रहेको बताएका छन् ।

चुनाव जित्ने हैसियत नभएपछि माधव नेपाल प्रचण्ड–कांग्रेसको शरणमा पुगेको रायमाझीको आरोप छ ।

कमेन्टहरु