देश

पर्वतारोहीको उद्दार र उपचारको जिम्मा विदेशी कम्पनीलाई दिइँदै !

जगत ठाडा मगर
२०७७ कार्तिक १९ | मध्यान्ह १२:०७ बजे

नेपाल आउने विदेशी पर्यटकको बीमा, उद्दार र उपचारको जिम्मा एउटै विदेशी कम्पनीलाई दिनेगरी नेपाल पर्यटन बोर्डले प्रक्रिया थालेको छ ।

दुई वर्ष अघि ‘फेक रेस्क्यु’सम्बन्धी घटना बाहिरिएसँगै नेपालको पर्यटन क्षेत्रमाथि लागेको दाग मेट्न भन्दै बोर्डले नेपाल आउने सबै पर्यटकको बीमा, उद्दार, उपचार र हेरचाहसम्बन्धी एकीकृत व्यवस्थापनको जिम्मा विदेशी कम्पनीलाई दिने प्रक्रिया अघि बढाएको हो ।‘ग्लोबल रेस्क्यु’ नामक अमेरिकी कम्पनीलाई त्यसको जिम्मा दिनेगरी बोर्डले छलफल समेत थालेको छ ।

शनिबार बोर्डले पर्वतारोहण, पदयात्रा र साहसिक पर्यटनसँग सम्बन्धित पर्यटन व्यवसायी संस्थालाई ग्लोबल रेस्क्युलाई यस्तो जिम्मेवारी दिने सम्बन्धमा छलफल गर्न भर्चुअल बैठकको आयोजना गरेको थियो ।

त्यसका लागि शुक्रबार त्यस्तो व्यवस्थापनका लागि सो कम्पनीले बोर्डसँग गरेको ११ वटा प्रस्ताव पठाउँदै बैठकमा यसबारे आफ्ना धारणा र सुझाव राख्न भनिएको थियो ।

बोर्डले एक्कासी यस्तो प्रस्ताव ल्याएपछि पर्यटन व्यवसायी सशंकित भए । नेपालको पर्यटन क्षेत्रलाई एउटै व्यक्तिको नाममा सुम्पने प्रपञ्च रचिएको उनीहरुको आशंका थियो । पर्यटन व्यवसायीबीच आन्तरिक छलफल नगरी यसबारे धारणा राख्न नसक्ने भन्दै बोर्डले बोलाएको छलफलमा धेरैजसो संस्थामा प्रतिनिधिहरु सहभागी नै भएनन् ।

ग्लोबल रेस्क्युले पठाएको सो प्रस्ताव बोर्डले मन्त्रालयमा समेत पठाएको छ । तर, व्यवसायी संस्थासँग आवश्यक छलफलबिनै प्रस्ताव मन्त्रालय पठाएको भन्दै व्यवसायीहरु बोर्डदेखि थप असन्तुष्ट बनेका छन् ।

कमेन्टहरु