कञ्चनपुरमा एम्बुलेन्सको ठक्करबाट एक पुरुषको मृत्यु


कञ्चनपुर । कञ्चनपुरमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज कृष्णपुर नगरपालिका– ५ का अन्दाजी ४५ वर्षीय कृष्णबहादुर ऐरको ठक्करबाट मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गको कृष्णपुर नगरपालिकाको गुलरिया नजिकै कैलालीको अत्तरियाबाट महेन्द्रनगर तर्फ जाँदै गरेको म १ च २८८ नं को एम्बुलेन्सले साइकलमा दूध बोकेर जाँदै गरेका ऐरलाई ठक्कर दिएको हो ।
एम्बुलेन्सको ठक्करबाट घाइते भएका ऐरको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानलेले बताए । एम्बुलेन्सका चालक भीमदत्त नगरपालिका– १६ का अन्दाजी ४० वर्षीय गणेश विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
क्षतिपूर्तिको माग गर्दै स्थानीय बासिन्दाले बिहानैदेखि पूर्व–पश्चिम राजमार्गको गुलरिया क्षेत्रमा सडक अवरुद्ध गरेका थिए । अहिले अवरुद्ध सडक संचालन भइसकेको छ ।






















