देश

मिलेमतोमा अरुको जग्गा वडा अध्यक्षको ससुराको नाममा, प्रहरीको फितलो अनुसन्धान भएको स्थानीयको आरोप

जगत ठाडा मगर
२०७८ भदौ ३० | बिहान १०:०५ बजे

लुम्बिनी । लुम्बिनी साँस्कृतिक नगरपालिका- १० का वडा अध्यक्ष रमजान अलि मियाँले आफ्नै ससुरालाई अर्कैको जग्गा पास गरिदिन मुख्य भूमिका खेलेको पाइएको छ। ससुरा सभान अल्लाह भारतीय नागरिक हुन्। उनको स्थायी ठेगाना भारतको महाराजगंज कवलपुर हवेली (वनकटहवा) हो। वडा अध्यक्ष मियाँले नक्कली नागरिकता बनाउनेदेखि ससुराको नाममा जग्गा पास गराई किनबेचमा प्रमुख योजनाकारका रुपमा संलग्न रहेको पाइएको हो।
photo 2021 09 15 10 06 38

उनकै खास मिलेमतोमा सोही वडास्थित मधुवनीका स्थायी बासिन्दा ७० वर्षीय गरिब कोहारको नाममा रहेको १० कठ्ठा १७ धुर जग्गा वडा अध्यक्षले ससुराको नाममा पास गराउन भूमिका खेलेका हुन्। आफ्नै ससुरा भारतीय नागरिक सभान अल्लाहलाई नक्कली गरिब कोहार बनाएर जग्गा किनबेच गरिएको छ।

वडाबाट नागरिकताको प्रतिलिपी बनाउने सिफारिस, जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी निकाल्ने सिफारिस, चारकिल्ला सिफारिसदेखि जग्गा ससुराको नाममा लिएर दोस्रो र तेस्रो व्यक्तिलाई विक्री गर्नेसम्मका किर्ते काममा अध्यक्षको प्रत्यक्ष संलग्नता रहेको छ। आफ्नो नाममा भएको जग्गा थाहैँ नपाई अर्कैले लगेपछि सक्कली जग्गाधनी प्रमाणपत्र र नागरिकता बोकेर पीडित गरिब कोहार न्यायको खोजीमा भौतारिरहेका छन्।
photo 2021 09 15 10 06 39

खबर थाहा पाएदेखि उनलाई भोक र निद्रा परेको छैन। पीडितले शंकाका घेरामा रहेका वडा अध्यक्ष मियाँसहित सात जनालाई किटानी जाहेरी दिई जिल्ला प्रशासन कार्यालय भैरहवामा उजुरी दिएका छन्। वडा अध्यक्ष रमजान अलि मियाँ, तानसेन नगरपालिका-८ साविक मदनपाखेरा ४ निवासी ३१ वर्षीय सन्दिप कार्की, सियारी गाउँपालिका- १ सोनारत निवासी ६० वर्षीय भागवत प्रसाद उपाध्याय, विहादी गाउँपालिका -५ पर्वत निवासी २७ वर्षीय सुरज आचार्य, सियारी गाउँपालिका- १ रुपन्देही निवासी २५ वर्षीय राजन तिवारी, सिद्धार्थनगर नगरपालिका- १२ निवासी मालपोत कार्यालयमा कार्यरत ४५ वर्षीय डण्डपानी न्यौपाने र यशोधरा गाउँपालिका- ८ कपिलवस्तु निवासी ४० वर्षीय गोविन्द प्रसाद मल्लाहका नाममा किटानी जाहेरी छ।

प्रहरीले किटानी जाहेरी परेकामध्ये पछिल्लो पटक जग्गा किनेर बैंकबाट ऋण समेत लिइसकेका यशोधरा गाउँपालिका ८ कपिलवस्तु निवासी गोबिन्दप्रसाद मल्लाह र लेखापढी व्यवसायी सियारी गाउँपालिका १ सोनारत निवासी ६० वर्षीय भागवत प्रसाद उपाध्यायलाई मात्र नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

वडा अध्यक्षले गाउँका सोझा नागरिकको जग्गा भारतबाट ससुरालाई झिकाएर पास गराएको उनका आफन्त र स्थानीयबासीले बताएका छन्। ससुरालाई समेत झुक्काएर जग्गा पास गराएको अध्यक्षका आफन्तहरु प्रतिक्रिया दिन्छन्।

वडा अध्यक्ष अझै फरार
ससुराको नाममा अरुको जग्गा पास भएको खबर गाउँभरी फैलिएपछि वडा अध्यक्ष मियाँ फरार भएका छन्। उनी आठ दिनदेखि वडा कार्यालयमा गएका छैनन्। एक साता बितिसकेपछि पनि सम्पर्कमा नआएपछि नगरपालिकाले सदस्य हरिराम बानियाँलाई कार्यवाहक अध्यक्ष दिएर काम चलाएको छ। ‘एक सातादेखि वडा अध्यक्ष हाम्रो सम्पर्कमा हुनुहुन्न’,वडा सचिव महाशर्माले भने,‘आउनु हुन्छ की भनेर बाटो हेर्‍यौँ, नआएपछि कार्यवाहक अध्यक्षबाट काम चलाएका छौँ।’

किर्ते काममा प्रत्यक्ष संलग्न हुँदा पनि वडा अध्यक्षलाई प्रक्राउ गरेर अनुसन्धान गर्नतर्फ प्रहरी प्रशासनले प्रभावकारी रुपमा चासो नदेखाएको मधुवनीका स्थानीय घनश्याम गुप्ताले गुनासो गरे। ‘हामी प्रहरीलाई अनुसन्धानमा खुलेर सहयोग गर्न तयार छौँ’,उनले भने,‘तर, अहिलेसम्म दोषीलाई किन प्रक्राउ गरिदैन ? यो अचम्मको विषय भएको छ ?’ उनले वडा अध्यक्ष मियाँ भारतको बम्बईमा रहेको खबर आफूले पाएको बताए। गुप्ताले भने‘प्रहरीले चाहेमा एकैछिनमा वडा अध्यक्षलाई प्रक्राउ गर्नसक्छ।’ गुप्ता पीडित कोहारको बेचिएको जग्गाको संधियार समेत हुन्।

के गर्दैछ प्रहरी ?
फरार वडा अध्यक्षको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए। स्थानीयले फरार वडा अध्यक्षको खोजीमा प्रभावकारी चासो दिएन भनेर गुनासो गर्छन् भन्ने जिज्ञासामा थापाले भने,‘हामीले उहाँलाई खोज्नु नपर्ने कुनै कारण छैन्, कुनै व्यक्ति कसैको सम्पर्कमा हुनसक्ला तर हाम्रो सम्पर्कमा नभएकाले उहाँ खोजीमै हुनुहुन्छ।’

केही दिनभित्र नतिजा आउने गरी प्रहरीले काम थालिरहेको उनले प्रतिक्रिया दिए। फरार वडा अध्यक्ष भर्खरै निर्वाचित नेपाली कांग्रेसको वडा सभापति समेत हुन्। स्थानीयका अनुसार उनी गृहमन्त्री बालकृष्ण खाँडका नजिकका पात्र हुन्। अन्नपूर्ण पोष्ट

कमेन्टहरु