देश

सिराहाको लहानबाट अस्थायी चालक अनुमति पत्र वितरण सुरु

जगत ठाडा मगर
२०७८ भदौ ३० | बिहान ०७:०५ बजे

सिराहा । सिरहाको लहानस्थित यातायात व्यवस्था कार्यालय लहानले मंगलबारबाट अस्थायी सवारी चालक अनुमति पत्र वितरण शुरु गरेको छ ।

कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी अस्थायी सवारी चालक अनुमति पत्र वितरण गरेको हो । सवारी ट्रायल परीक्षा उत्तीर्ण गरेपछि सेवाग्राहीहरूले स्मार्ट लाइसेन्स कार्डको लागि एक वर्ष बित्दा पनि कुर्नुपर्ने झन्झट अब अन्त्य भएको कार्यालयले बताएको छ ।

अव त्यस अवधिसम्म यातायात कार्यालय दिएको चिट बोकेर सवारी साधनहरू चलाउनु पर्ने बाध्यताको अन्त्य भएको यातायात कार्यालय लहानका निमित्त प्रमुख मीन भट्टराईले जानकारी दिए । ट्रायल परीक्षा उत्तीर्ण भएका सेवा ग्राहीहरूलाई एक हप्ता भित्र क्युआर कोडसहितको अस्थायी चालक अनुमति पत्र कार्यालयले प्रदान गर्ने निमित्त प्रमुख भट्टराईले बताए ।

उनले अव कसैले पनि चिट बोकेर सवारी साधन चलाउनु नपर्ने बताए । देशभरिका यातायात कार्यालयको ३२ शाखामध्ये काठमाडौँ, जनकपुर, महोत्तरीको बर्दिबास र सिरहाको लहानबाटमात्र अस्थायी चालक अनुमति पत्र वितरण हुन थालेको यातायात कार्यालय लहानका नायव सुब्बा विजय दाहालले जानकारी दिए ।

कमेन्टहरु