देश

रुपन्देहीमा घरको छतमा आफ्नै शिशुको हत्या गर्ने आमा-बुवा पक्राउ

जगत ठाडा मगर
२०७८ भदौ ३० | बिहान ०७:०५ बजे

रुपन्देही । रुपन्देहीको गैडहवाका एक दम्पती आफ्नै आठ महिने शिशुको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । गैडहवा -६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले आफ्नै घरको छतमा आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ ।

मल्लाह दम्पतीले यही भदौ २६ गते शिशुको हत्या गरेको स्वीकारेको र दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए । हत्याको कारण एकिन नभए पनि जग्गा सम्बन्धी विवादको कारणले परिवारमा दैनिक झगडा हुने गरेको र घटना सोही कारणले भएको भन्ने बुझिएको थापाले बताए ।

२६ गते बिहानपख करिब १ बजे शिशुको हत्या भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट प्रहरी निरीक्षक रबिन्द्र महतसहितको टोली गैडहवामा गएको थियो । घटनास्थलको सुक्ष्म अबलोकन गर्ने क्रममा घरको छतमा आलो रगत जमेको अवस्थामा भेटिएको र मल्लाह दम्पती सुत्ने कोठाको टेबुलमा रगत लागेको हँसिया भेटिएको प्रहरीले जनाएको छ ।

बिस्तारामा, विद्युतको स्वीचमा र रेनुले लगाएको सारीमा पनि रगत जस्तो रातो पदार्थ लागेको फेला परेको थियो ।
‘बरामद गरिएको प्राप्त प्रमाणको आधारमा सुक्ष्म रुपमा अनुसन्धान तथा सोधपुछ गर्दा उनिहरुले हत्या स्वीकार गरेको,’ प्रहरी नायव उपरीक्षक थापाले बताए ।

घटनामा संलग्न रहेका श्रीराम मल्लाह र उनकी श्रीमती रेनुलाई घटनास्थलबाटै सोही दिन प्रहरीले पक्राउ गरेको थियो ।

कमेन्टहरु