लुम्बिनीमा प्रदेशमा जसपाका दुई मन्त्रीले पाए मन्त्रालयको जिम्मेवारी


बुटवल । लुम्बिनीमा सरकार गठन भएको एक महिनापछि जसपाका दुई जना विना विभागीय मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
मन्त्री सुमन शर्मा रायमाझीले कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको र पुरमती ढेंगाले श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् । सरकारका प्रवक्ता कृष्णध्वज खड्काको सचिवालयले विना विभागीय दुई मन्त्रीलाई मन्त्रालयको कार्य विभाजन गरिएको पुष्टी गरेको छ ।
साउन २८ गते नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त हुंदा सोही दिन नेपाली कांग्रेस र माओवादी केन्द्रका एक–एक जना, जसपाका तीनजना र स्वतन्त्र सांसद अजय शाही मन्त्री नियुक्त भएका थिए । ती मध्ये जसपाका रायमाझी र ढेंगा तथा स्वतन्त्र सांसद शाही विना विभागीय मन्त्री नियुक्त भएका थिए ।
यसअघि मुख्यमन्त्री केसीले शाहीलाई उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको जिम्मेवारी दिएका थिए । अब बन्ने मन्त्रीहरुमा नेपाली कांग्रेस र माओवादी केन्द्रबाट तीन-तीन जना मन्त्री र एक–एकजना राज्यमन्त्री नियुक्त गर्ने सहमति भएको छ ।
तर दुवै पार्टीमा आकांक्षी धेरै जना हुँदा मन्त्री छान्न सकस भएको छ । मन्त्रीको टुंगो नलाग्दा मुख्यमन्त्री केसीले अहिले पनि ६ वटा मन्त्रालयको जिम्मेवारी एक्लैले सम्हालेका छन् ।






















