नेपालमा पहिलो पटक ‘बजेट होलिडे’


काठमाडौँ । विनियोजन विधेयक, २०७८ पारित नभएपछि सरकारले बुधबारदेखि राज्यकोषबाट कुनै खर्च गर्न नपाउने भएको छ।
प्रतिनिधिसभाको आजको बैठकपश्चात् सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अर्थमन्त्री शर्माले केही दिन सरकारको खर्च रोकिन सक्ने जानकारी दिए । नेपालमा सरकारको खर्च नै रोकिन लागेको सम्भवतः यो पहिलो पटक हो ।
अर्थशास्त्रीय भाषामा यसलाई ‘बजेट होलिडे’ का रुपमा लिने गरिन्छ । अघिल्लो सरकारले अध्यादेशबाट गत जेठ १५ गते चालू आर्थिक वर्षको बजेट ल्याएको थियो । अध्यादेशबाट ल्याइएको बजेट गत साउन ४ गते सङ्घीय संसद्मा पेश भएको थियो । अध्यादेश ६० दिनभित्र पारित गर्नुपर्ने प्रावधान छ। त्यस आधारमा बुधबारसम्म विनियोजन विधेयक पारित गरिसक्नुपर्ने थियो ।
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर अवरोध गरिरहेको छ। आज विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव मात्रै स्वीकृत भएको छ । अर्थमन्त्री शर्माले केही दिन सरकारको खर्च रोकिन सक्ने जानकारी दिँदै नियमित प्रक्रियाबाटै बजेट पारित गरिने बताए । प्रतिनिधिसभाको अर्को बैठक आगामी असोज ४ गतेका लागि तोकिएको छ ।
शर्माले राजस्व उठाउने विषयमा कुनै अवरोध नहुने र नियमित नै हुने बताए । ‘राज्यकोषबाट पाँच/सात दिन खर्च गर्न नहुन सक्छ तर राजस्व सङ्कलनमा भने कुनै अवरोध हुँदैन’, अर्थमन्त्री शर्माले भने । पेश्की विधेयक ल्याउन लाग्नुभएको हो र भन्ने सञ्चारकर्मीको जिज्ञासमा अर्थमन्त्रीले त्यसतर्फ सरकारको कुनै सोच नरहेको बताए ।
उनले एकाध दिन खर्च गर्न नपाए पनि नियमित प्रक्रियाबाटै विनियोजन विधेयक पारित गरिने उल्लेख गरेका छन् । विपक्षी एमालेको चर्को नाराबाजीका बीच अर्थमन्त्री शर्माले यही भदौ २५ गते संसदमा प्रतिस्थापन विधेयक पेश गरेका थिए । अर्थमन्त्रीले नियमित प्रक्रियाबाटै बजेट पारित हुने बताए पनि सदनमा एमालेको अवरोध जारी नै छ ।
सोमबार सभामुखले आयोजना गरेको सर्वदलीय बैठकमा एमाले दलका नेता कुनै पनि सहभागी भएनन् ।






















