रौतहट प्रहरी प्रमुखको खाली रहेको पदको जिम्मेवारी सम्हाल्दै एसपी घिमिरे


सिताराम साह
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटमा एसपी विनोद घिमिरे आउनु हुने भएको छ । पत्रकारलाई लागुऔषध राखेर फसाउने कार्यमा संलग्न रहेकोले रौतहटका एसपी सिद्धिविक्रम शाहलाई अनुसन्धानका लागी प्रहरी प्रधान कार्यालय काठमाडौ तानिएपछि रौतहटका एसपी परिवर्तन गरिएको हो ।
धेरै दिन देखि प्रहरी प्रमुखको पद खाली रहेकोले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सोमबार एसपी विनोद घिमिरेलाई रौतहटमा काज सरुवा गर्ने निर्णय गरेका जानकारी दिनुभयो । काज सरुवा हुनु भन्दा अघि घिमिरे जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा कार्यरत थिए । रौतहटमा सादा पोषाकमा खटिने प्रहरी घुमुवाले लागुऔषध राखेर पत्रकारलाई फसाएको घटना छानबिनका लागी काठमाडौँ बोलाइएका शाहलाई जुनियर प्रहरी अधिकृत शिक्षालयमा सरुवा गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रबक्ता नारायण प्रसाद चिमोरियाले बताउनुभयो ।
साउन ३२ मा गौर नगरपालिका–१ बाट पक्राउ परेका पत्रकार महम्मद मोजिबुल्लाह र राजपुर नपा–७ घर भएका शेख गुलाबलाई प्रहरीले फसाएको आरोप लागेको छ । मोजिबुल्लाहले पार्किङ गरेर राखेको बिआर–३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा १०५ ट्याब्लेट लागुऔषध नाइट्राभेट प्रहरीले ‘प्लटिङ’ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले गरेको छानबिनबाट पुष्टि भएको छ । लागुऔषध नाइट्राभेट राख्ने भूमिकामा रहेका प्रहरी सहायक निरीक्षक असई उदयप्रसाद यादव र जवान मनोज शाहलाई निलम्बन गरिएको छ ।
लागुऔषध ‘प्लटिङ’ गरेको आरोपमा प्रहरीले स्थानीय धिरज यादव र जितेशकुमार यादवलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । घटनामा रौतहटका एसपी सिद्धिविक्रम शाहको भूमिका पनि शङ्कास्पद देखिएपछि हेडक्वार्टरले छानबिन समिति बनाएको थियो । छानबिन टुङ्गिन बाँकी छ । प्रहरीसँग मिलेर लागुऔषध राखेर फसाउने भूमिकामा देखिएका पत्रकार महासङ्घ रौतहट शाखाका सह–सचिव सञ्जय शहनी फरार छन् ।






















