राष्ट्रिय सहमति गरेर एमसीसी अनुमोदन गर्दा नै राष्ट्रको हित हुने छ : बाबुराम भट्टराई


काठमाडौ । पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्दा नै राष्ट्रको हित हुने बताएका छन्।
भट्टराईले एमसीसी जस्ता विषयमा राष्ट्रिय दलबीचमा समझदारी र एकता आवश्यक रहेको बताएका हुन्। ‘एमसीसीको विषय अहिले पेचिलो रूपमा उठेको छ। यस्ता राष्ट्रिय मामिलाका विषयमा प्रमुख दलबीच समझदारी बनाएर नै अगाडि बढ्नुपर्छ,’ गोरखामा सोमबार आयोजित पत्रकारसँगको कुराकानीमा भट्टराईले भने।
उनले दलगत राजनीति र दलभित्रका पनि गुटगत राजनीतिका निम्ति राष्ट्रियताका प्रश्नलाई गिजोल्याउने काम गर्न नहुने आफ्नो मान्यता रहेको बताए । भट्टराईले भने ‘एससीसी पनि विशुद्धरूपमा एउटा परियोजना अनुदान सम्झौता हो। यस्ता सम्झौता थुप्रै देशसँग हुने गरेका छन्।’
भट्टराईले विगतमा यस्ता सम्झौता गर्दा विवाद बढी देखिएकाले पनि राष्ट्रिय सहमति जुटाउन सहज हुन्छ भन्ने ढङ्गले नेपालकै तर्फबाट माग गरेर संसदबाट
अनुमोदनको बुँदा एमसीसी सम्झौतामा राखिएको पाइएको बताए। एमसीसीको विषयमा सरकारमा रहँदा एउटा कुरा र सरकारबाट बाहिरिदा अर्को कुरा गर्ने नेपालका राजनीतिक दलको प्रवृतिका कारण यस्ता खालका सहमति र सम्झौतामा समस्या हुने गरेको उनले बताए।
‘केही दल खास गरी हाम्रा पूराना कम्युनिष्ट साथीको जुन एउटा धङ्धङ्गी छ, त्यो धङधङ्गी छोड्न नसकेका कारण पार्टीको आन्तरिक सङ्घर्ष पनि प्रतिबन्धित हुन पुग्यो’, उनले भने `राजनीतिक दलले छिटोभन्दा छिटो सहमति गरेर सम्झौतालाई अनुमोदन गरे राष्ट्रको हित हुने छ।´
जसपा एक्लैले निर्णय गर्न सक्ने अवस्था नरहेको भन्दै एमसीसी राष्ट्रिय सहमतिबाट नै टुङ्गो लागोस् भन्ने पार्टीको धारणा रहेको भट्टराईले बताए।






















