देश

नेपालले एमसिसी सम्झौता अस्वीकार गरे वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

जगत ठाडा मगर
२०७८ भदौ २९ | बिहान ०८:०५ बजे

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससिसी) की उपाध्यक्ष फतिमा सुमारले नेपालले एमसिसी सम्झौता अस्वीकार गरे वैदेशिक सहयोग रोकिने चेतावनी दिएकी छन्।

नेपालमा एमसिसी आयोजनाबारे चर्को विवाद चलिरहेको बेला गत बिहीबार नेपाल भ्रमणमा आएकी सुमारले मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसिए) का पदाधिकारीसँगको छलफलमा यस्तो चेतावनी दिएकी हुन्। आफ्नो चारदिने भ्रमणमा सुमारले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री शेरबहादुर देउवालगायत सबै दलका शिर्ष नेताहरूसँग भेटवार्ता गरेकी थिइन्।

यही क्रममा एमसिसी आयोजना अगाडि बढाउने जिम्मेवारी लिएको संस्था एमसिएका पदाधिकारीसँगको छलफलमा सुमारले नेपाली नेताहरूले अमेरिकालाई खेलाचीका रूपमा लिएको भन्दै आक्रोश पोखेकी थिइन् । उक्त छलफलमा सहभागी एक अधिकारीका अनुसार करिब आधा घण्टा धाराप्रवाह बोलेकी सुमारले एमसिसी अनुदान अस्वीकार गरे नेपालले आगामी दिनमा वैदेशिक ऋण र अनुदान प्राप्तिमा समस्या भोग्नुपर्ने चेतावनी दिएकी थिइन्।

‘नेपालले अहिलेसम्म कसरी र कुन स्रोतबाट वैदेशिक सहयोग लिएको छ’, प्रश्न गर्दै सुमारले भनिन्, ‘कुल वैदेशिक सहयोगको ६० प्रतिशतभन्दा धेरै हिस्सामा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पार्न सक्ने हैसियत अमेरिकासँग छ।’ उपाध्यक्ष सुमारले विश्व बैंक र अमेरिकाको सम्बन्ध के हो, एसियाली विकास बैंकलगायत अन्य दातृ निकाय र संस्थामा अमेरिकाको पहुँच कस्तो छ भन्दै अमेरिकाले चाहेमा नेपालले लिँदै आएका अधिकांश सहयोगमा तत्कालै बन्देज गर्न सक्ने बताइन्।

कमेन्टहरु