देश

सुदूरपश्चिममा रानाथारू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा माग गर्दै धनगढीमा प्रर्दशन

जगत ठाडा मगर
२०७८ भदौ २८ | मध्यान्ह ०७:०५ बजे

धनगढी । कैलाली र कञ्चनपुरका रानाथारू समुदायले रानाथारू भाषालाई सुदूरपश्चिम प्रदेशमा सरकारी कामकाजीको भाषा नबनाएको भन्दै विरोध प्रर्दशन गरेका छन् ।

भाषा आयोगको सिफारिसमा डोटेली र थारु भाषालाई प्रदेशको सरकारी कामकाजी भाषाका रुपमा मान्यता दिएको तर रानाथारू भाषा नदिएको भन्दै उनीहरुले सोमबार धनगढीमा नाराबाजीसहित विरोध प्रर्दशन गरेका हुन् । नेपाल रानाथारु समाजलगायतका रानाथारु आवद्ध विभिन्न संघ संस्थाले सोमबार दिउँसो धनगढी चौराहदेखि एलएन चोकसम्म प्रर्दशन गरेका हुन् ।

एलएन चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै रानाथारु समुदायका अगुवाइ तथा रानाथारु समाजका अध्यक्ष कृपाराम रानाले भाषा आयोगले आफूहरुमाथि विभेद गरेका कारण आन्दोलन गर्न बाध्य भएको बताएका थिए । सभालाई सम्बोधन गर्दै पूर्व मन्त्री तथा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य नारदमुनी रानाले रानाथारु भाषालाई सुदूरपश्चिमको कामकाजी भाषा बनाउनुपर्ने माग गरे ।

उनले भाषा आयोगले रानाथारु समुदायमाथि विभेद गरेकाले तत्काल सच्याउन आग्रह गरे । आयोगले डोटेली र थारू भाषालाई कामकाजी भाषाको मान्यता दिएकोमा आफूहरुको कुनै असहमती र आपत्ति नरहेको तर रानाथारु भाषालाई पनि कामकाजी भाषाको मान्यता दिनुपर्ने माग गरिएको छ ।

प्रदेश सरकारका हरेक निकायमा रानाथारूका लागि आरक्षण सुनिश्चित गर्न समेत माग गरिएको छ ।

कमेन्टहरु