देश

एमाले संसदहरुको अवरोधकाबीच राष्ट्रियसभाबाट लोक सेवा आयोग विधेयक पारित

जगत ठाडा मगर
२०७८ भदौ २८ | मध्यान्ह ०३:०५ बजे

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुको अवरोधकाबीच राष्ट्रिय सभाको दोस्रो बैठकले लोक सेवा आयोग विधेयक–२०७८ पारित गरेको छ । राष्ट्रियसभाको दोस्रो बैठकमा पनि एमालेका सांसदहरुले अवरुद्ध गरेका थिए ।

अवरोधकाबीच पनि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोक सेवा आयोग विधेयक–२०७८ निर्णयार्थ पेश गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिएका थिए । सो प्रस्ताव निर्णयार्थ पेश गर्दै बहुमतले पारित भएको राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले घोषणा गरे ।

यस अघि एमालेकी सांसद कोमल वलीले सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा नदिएसम्म बैठक सूचारु हुन नदिने अडान राखेकी थिईन । उनले परमादेशबाट सरकार र अध्यादेशबाट पार्टी फुटाउने कामले लोकतन्त्रलाई समाप्त गर्ने भएकाले एमाले आफ्नो दल फुटाउने सभामुख सापकोटाको षडयन्त्र विरुद्ध उभिनु परेको पनि पटकपटक दोहोर्याइन् ।

राष्ट्रियसभाको दोस्रो बैठकले राष्ट्रियसभाका पूर्व सांसद रुक्म शमशेर राणाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । गत भदौ २६ गते काठमाडौंमा निधन भएका ऊनी २०४८ सालमा राष्ट्रियसभा सदस्यमा मनोनित हुनु भएका थिए । राष्ट्रियसभाको अर्को बैठक आगामी भदौ ३० गते बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

कमेन्टहरु