देश

पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस गर्न वा मार्ग प्रशस्त गर्न एमालेको माग

जगत ठाडा मगर
२०७८ भदौ २८ | मध्यान्ह ०१:०५ बजे

काठमाडौं । सत्ता गठबन्धनको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस गर्न वा मार्ग प्रशस्त गर्न माग गरेका छन् ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अब पार्टीको बटमलाइन माधवकुमार नेपाल सहितका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्न वा पदबाट मार्ग प्रशस्त गर्नुपर्ने बताए । सभामुखलाई उक्त विषय प्रत्यक्ष भेटमार्फत् गराएको उनले बताए । यस्तै एमालेले आज बसेको सर्वदलीय बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।

भट्टराईले भने “हामी आजको बैठकमा सहभागी हुँदैनौं । सभामुखलाई भेटमार्फत् एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त भएको सूचना टाँस गर्न वा मार्ग प्रशस्त गर्न भनेका छौं । हाम्रो पार्टीको बटमलाइन यही हो । हाम्रो माग पूरा नहुँदासम्म बैठकमा जाँदैनौं । संसद्मा अवरोध यथावत रहने छ।”

एमालेले माधवकुमार नेपाल नेतृत्त्वको नेकपा (एकीकृत समाजवादी)लाई अवैधानिक पार्टीको आरोप लगाएको छ । सो पार्टी सहभागी हुने भएपछि एमाले सर्वदलीय बैठकमा नजाने निर्णय गरेको कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

सभामुख अग्निप्रसाद सापाकोटाले भने बैठक सञ्चालन गर्न र आफ्नो नियतमा खोट नभएको बताएका छन् । सभामुखले आज संसदमा प्रतिनिधित्त्व गर्ने दलसँग छलफल गर्न लागेका हुन् । बैठक आज दिउँसोको २ः३० मा बोलाइएको छ ।

कमेन्टहरु