दशैं तिहारका लागि नयाँ नोट असोज ४ गतेदेखी साट्न पाइने


काठमाडौँ । दशैं तिहारका लागि लक्षित गर्दै नेपाल राष्ट्र बैंकले बजारमा तीन अर्ब ६० करोड रुपैयाँ बराबरको सुकिला (नयाँ) नोट बजारमा पठाएको छ । बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालका अनुसार कमर्सियल बैंकको मागका आधारमा करिब महिना दिनअघि नै बजारमा दशैंतिहारलाई लक्षित गरी सुकिला नोट पठाइएको बताए ।
नोट काठमाडौंमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सात वटै प्रदेशको प्रादेशिक कार्यालय र कमर्सियल बैंकका सबै शाखाहरूबाट उपलब्ध गराइने छ । उनका अनुसार सर्वसाधारणले भने आगामी असोज चार गतेदेखि मात्र नयाँ नोट सटही गर्न पाउने छन् । एक व्यक्तिले बढीमा १८ हजार ५०० रुपैयाँसम्म सटही गर्न सक्ने र केही बैंकहरुले ढिला गरि नोट सटही गर्न पनि सक्ने बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालको भनाइ छ ।
नयाँ नोट रु.५,रु.१०,रु.२०,रु.५० र रु.१०० दरका एक एक गड्डीका दरले १८ हजार ५०० सम्म साट्न पाउने सुविधा बैंकले प्रदान गर्ने मुद्रा व्यवस्थापक प्रमुख नेपालले जानकारी दिए ।






















