मन्त्रिपरिषद् विस्तारमा सहमति नजुट्दा देउवा तनावमा


काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा सहमति नजुट्दा एकपछि अर्को सकस पर्दै गएको छ । २९ असारमा सर्वोच्च अदालतको परमादेशबाट नियुक्त भएका प्रधानमन्त्री देउवाले दुई महिना बित्दा पनि सरकारलाई अझै पूर्णता दिन सकेका छैनन् ।
देउवा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र माधव नेपालको तत्कालीन एमालेको समूह र राष्ट्रिय जनमोर्चा पार्टीको सहयोगमा प्रधानमन्त्री बनेका थिए ।पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका देउवाले दुई महिनासम्म पनि पाँच जना नै मन्त्रीका भरमा सरकार चलाइरहेका छन् ।
त्यसमा पनि एक जना भने राज्यमन्त्री छन् । प्रधानमन्त्रीसहित गर्दा सरकार ६ सदस्यीय मात्रै छ । मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सरकारको आलोचना दिनदिनै बढ्दै गएको छ । प्रधानमन्त्री देउवाले सरकारको आलोचना बढेको भन्दै गठबन्धनमा आबद्ध दलबाट मन्त्रीका लागि नाम पठाउन पटक पटक शीर्ष नेताहरूलाई आग्रहसमेत गर्दै आएका छन् ।
उनले गत बिहीबारबाट भने निरन्तरजसो गठबन्धन बैठकमा मन्त्रीको लिस्ट दिन दलका शिर्ष नेताहरूलाई आग्रह गरिरहेका छन् । ‘प्रधानमन्त्री मन्त्रिपरिषद् विस्तारमा एकदमै चिन्तित हुनुहुन्छ, जसरी हुन्छ पहिले मन्त्रिपरिषद् विस्तार गरौं भन्नेतर्फ उहाँको ध्यान छ तर गठबन्धन आबद्ध दलका नेताहरूको एकपछि अर्को वाहनाले प्रधानमन्त्रीलाई सकस परिसकेको छ,’ प्रधानमन्त्री देउवानिकट एक कांग्रेस नेताले भने ।
गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूले भने प्रधानमन्त्री देउवालाई मन्त्रीको नाम लिस्ट दिन सकेका छैनन् । उनीहरूले मन्त्रीका आकांक्षी धेरै भएको र मन्त्रालय संख्या बढाउनुपर्ने भन्दै देउवालाई दबाब दिँदै आइरहेका छन् ।






















