नक्कली बमको डर देखाएर तीन करोड फिरौती माग्ने तीन जना पक्राउ


काठमाडौ । काठमाडौंको पुरानो बानेश्वरस्थित मात्रिका आँखा अस्पतालमा नक्कली बम राखेर फिरौती माग्ने तीन जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रोल्पा खोलावाङका ४० वर्षीय अम्मरबहादुर रोक्का मगर, धादिङको त्रिपुरासुन्दरी घर भई काठमााडौं फुटुङ बस्ने २५ वर्षीय आशिष कुँवर र उनका भाइ २० वर्षीय अभिषेक रहेका छन्। उनीहरुलाई परिसरको टोलीले पक्राउ गरेको हो। उनीहरुले आपराधिक लाभ लिन नक्कली बम राखेका थिए।
परिसरका एसएसपी अशोक सिंहले तीनै जनालाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको बताए। तीन जनामध्ये आशिष कुँवरले केही समय अघि उक्त अस्पतालमा आफ्नो आँखाको शल्यक्रिया गरेका थिए। उनको आँखाको शल्यक्रिया गर्दा १७ लाख खर्च भएको थियो। सो रकम उनले ऋणमा लिएको र उक्त रकम तिर्नलाई नक्कली बम राखेर धम्क्याएको आशिषले प्रहरीमा वयान दिएका छन्।
अस्पतालमा शल्यक्रिया गर्न जाँदा उनले अस्पतालका डाक्टर र कर्मचारीको सम्पर्क नम्बर मागेका थिए। आशिषले बिहीबार मातृका अस्पतालका एक डाक्टरलाई फोन गरेका थिए। उनले अस्पताल र घरमा बम राखिदिने र अस्पताल तथा घर परिवारलाई गोली हान्ने बताउँदै तीन करोड फिरौती माग गरेका थिए। एसएसपी सिंहका अनुसार आशिषले उक्त रकम लिएर नागढुंगा आउन डाक्टरलाई आदेश दिएका थिए। यदी नल्याएमा उनले अस्पताल र घरमै बम राखिदिने र परिवार सखाप पारिदिने धम्की दिएका थिए।
उनिहरुले अस्पतालको तेस्रो तलामा बम राखेको भन्दै आशिष र उनका साथीले अस्पतालका सोधपुछ कक्षका पूर्णबहादुर दोङलाई फोन गरेका थिए। उनीहरुले सक्दो छिटो पैसा लिएर नागढुंगा आउन भनेका थिए। उक्त कुरा दोङले अस्पतालका अध्यक्ष सुरज श्रेष्ठ र मेडिकल डाइरेक्टरलाई जानकारी गराएपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीलाई खबर गरे थप कारबाही गर्ने र सिध्याउने समेत धम्की दिएका थिए । अस्पतालका कर्मचारीले बम राखेको जानकारी गराएपछि परिसरबाट प्रहरी उपरीक्षक रमेश बस्नेतसहिततको टोली उक्त स्थानमा पुगेको थियो। बम राखिएको आशंकामा प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो। सेनाले उक्त बम नक्कली भएको पुष्टि गरेको थियो। प्रहरीले सिसिटिभी फुटेजका आधारमा उनीहरुलाई शनिबार पक्राउ गरेको थियो।






















