चिमखोला–घ्याँसीखर्क सडक दुई महिनादेखि अवरुद्ध


म्याग्दी । रघुगंगा गाउँपालिकाको चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ ।
रघुगंगा गाउँपालिका–७ चिमखोलास्थित मलाङमा असार अन्तिममा पहिरो खसेर सडक बगाएपछि दुई वडाका बासिन्दालाई आवतजावत, ढुवानी र कृषि तथा पशुजन्य बस्तु बजारमा बिक्री गर्न समस्या भएको छ ।
रघुगंगा गाउँपालिका–८ मंगलेखानीका नरप्रसाद छन्त्यालले सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको बताए । बिरामीलाई अस्पताल पुर्याउन काम विशेषले गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम आवतजावत तथा खाद्यान्न, दैनिक उपभोग्य बस्तु र आलु, टुसालगायत कृषिउपज बजार पठाउन समस्या भएको उनले बताए ।
रघुगंगा गाउँपालिका–७ को नामिला, ८ नं वडाको मंगलेखानी, घ्याँसीखर्क, चौरखानी, ढाँड, दुवाडी, पात्लेखर्क बस्तीसँग यातायात सम्पर्कबिच्छेद भएको छ । यो सडक चिमखोला–राहुघाट–मङ्गलेको बाँध, ठूलोखोला र माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनास्थल पुग्न पहुँचमार्गका रूपमा प्रयोग हुन्छ ।
मलाङमा करिब ४०० मिटर दूरीमा पहिरोले सडक क्षतविक्षत बनाएको छ । पहिरो प्रभावित क्षेत्रमा पैदलयात्रा गर्न पनि जोखिम छ । पहिरोको तलतिर राहुघाट नदी छ । यही सडक भएर धौलागिरि आइसफल र धार्मिकस्थल रिखार जान सकिन्छ । माथिल्लो भागको पाखोबाट निरन्तर पहिरो खस्ने समस्या छ ।
ठूलो आकारको पहिरो भएकाले पछिल्लो पाँच वर्षयता हरेक वर्ष बर्खायाममा मलाङमा यातायात सेवा अवरुद्ध हुने गरेको छ । रघुगंगा गाउँपालिका–८ का वडाध्यक्ष गमान छन्त्यालले वर्षात् हुनेबित्तिकै पहिरो खस्ने भएकाले सडक खुलाउन समस्या भएको बताए ।
मनसुन बाहिरिएपछि मलाङको सडकमा खसेको पहिरो पन्छाएर यातायात सञ्चालनका लागि पहल गरिने वडाध्यक्ष गमानले बताए ।






















