संखुवासभा हत्या काण्ड : एउटै चिर्पटले पाँच जनाको हत्या


काठमाडौं । संखुवासभामा हत्या प्रकरणको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । साइनोले उनी मृतक तेजबहादुर कार्कीका भतिजो समेत हुन् ।
डीआईजी अरुण बीसीका अनुसार प्रहरीले व्यक्तिगत रिसिइबी, सुनियोजित हत्या, लुटपाटका लागि हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । तर घरमा भएको सम्पत्ति र मृतकले लगाएको गरगहना सुरक्षित भएकाले लुटपाटका लागि हत्या भएको पाइएन भने बाहिरबाट आएर घटना गराएको पनि देखिएन ।
अनुसन्धानका क्रममा लोकबहादुर माथि अनुसन्धानको दायरा साँघुरो भएको बीसीले बताए ।लोक बहादुर कार्कीले आफैंले ६ जनाको हत्या गरेको स्वीकार समेत गरेका छन् । लोकबहादुरले बताए अनुसार उनी वैदेशिक रोजगारीमा गएका थिए । तर पछिल्लो पटक विरामी भएर काम गर्न नसक्ने भएपछि फर्किएका थिए । आक्रमण र झैझगडा गर्ने उनले औषधि समेत खाइसकेको पाइएको डीआईजी बीसीले जानकारी दिए । लोकबहादुरका हजुरबुवा र मृतक तेजबहादुरका बुबा बौद्धमान दाजुभाइ थिए ।
लोकबहादुरका हजुरबुवाले आफ्नो मृत्यु हुने क्रममा तेजबहादुरलाई आफ्ना छोराहरुको पनि रेखदेख गर्न आग्रह गरेका थिए । परिवारको हर्ताकर्ता तेजबहादुर बेलाबेला उनीहरुको घरमा जाने र सम्झाउने गर्दथेँ । लोकबहादुरले भने भनेको नमान्ने, अल्छी स्वभावका भएकाले तेजबहादुरले बेलाबेला गाली गर्थे । काम नलाग्ने, पागल जस्ता शब्द प्रयोग गरेर गरेको गाली लोकबहादुरको मनमा गढेको पाइएको प्रहरी अधिकृतहरुले बताएका छन् ।
घटना भएको दिन तेजबहादुरले खेताला आउन भनेका थिए । लोकबहादुर र उनका भाइलाई पनि बोलाइएको थियो । तेजबहादुर घटना हुने दिन पनि बोलाउन गएका थिए । बाबु र भाइ घाँसका काट्न गएका थिए भने लोकबहादुर घरमै थिए । बिहानै उठाउँदा लोकबहादुर रिसाए । विगतदेखि नै आफूलाई गालीगलोज गरेको मनमा गढेको आक्रोश समेत भएकाले उनले तेजबहादुरलाई पछ्याउँदै गए ।
गोगनको रुख भएको स्थानमा पुगेपछि उनले टाउकोमा चिर्पटले हानेको पाइएको छ । २–३ पटक हानेपछि तेजबहादुर ‘लोकेले मार्यो’ भनेर कराए । त्यो सुनेर घरमा भएकी उनकी श्रीमती कमला र बुहारी रञ्जना दौडिँदै आए । त्यो देखेपछि लोकबहादुरले तेजबहादुरको शवलाई कान्लामुनि धकेलिदिए र काकी भएतिर गए ।
उनलाई पनि त्यही चिपर्टले हानेर खोल्सा तल झारिदिए । त्यो देखेर बुहारी रञ्जना बेहोस भएर ढलिन् । उनी उठ्दानउ्ठदै लोकबहादुरले चिपर्टले प्रहार गरे । कमला र रञ्जनालाई पछ्याउँदै आएका दुई नाबालक दिपेन र गोमालाई पनि लोकबहादुरले लखेटी–लखेटी चिर्पटले हानेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ ।
एकै परिवारका ५ जनाको हत्यापछि उनी तेजबहादुरकै घरमा गए, जहाँ हजुरआमा पार्वती कुँडो पकाइरहेकी थिइन् । लोकबहादुरले उनको टाउको भित्तामा ठोकाएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको डीआईजी बीसीले जानकारी दिए । ६ जनाको हत्या गरेपछि लोकबहादुर घरमा गई घटनामा प्रयोग गरेको चिर्पट कुँडो पकाउन बालेको आगोमा हालेको पाइएको प्रहरीले जनाएको छ ।






















