संखुवासभा हत्या प्रकरण : कार्की परिवारकै छिमेकी युवक पक्राउ


विराटनगर । संखुवासभाको मादीमा भएको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । शनिबार बिहान प्रहरीले छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीलालाई पक्राउ गरेको हो।
पक्राउ परेका युवक नाताले मृतकका भतिजो पर्ने हुन् । प्रहरीले आरोपी कार्कीलाई आइतबार सार्वजनिक गर्ने तयारी गरेको छ र उनको पूरै परिचय भने खुलाएको छैन । तर, उनको मानसिक अवस्था कमजोर रहेको र केही समयदेखि औषधि खाइरहेको प्रहरीले बताएको छ ।
प्रहरी स्रोतका अनुसार हत्यामा प्रयोग भएको रड भेटिएपछि छिमेकी युवक शङ्काको घेरामा परेको हो । घरभित्र रगत लागेको सर्ट भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिको सर्टमा लागेको रगत र मृतकको डिएनए परीक्षणपछि सार्वजनिक गरिने प्रहरीले बताएको छ ।
संखुवासभाका डिएसपी लालध्वज सुवेदीका अनुसार घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । हत्या आरोपीलाई आइतबार सार्वजनिक गरिने भएको छ । हत्यामा एक व्यक्तिको मात्रै संलग्नता रहेको प्रहरी स्रोतले बताएको छ । सुरुमा तेजबहादुरको हत्यापछि परिवारका अन्य सदस्यको हत्या भएको स्रोतको दाबी छ ।






















