बालुवाटारमा आज सत्ता गठबन्धनको बैठक बस्दै, एमसीसी र मन्त्रिपरिषदबारे छलफल हुने

जगत ठाडा मगर
२०७८ भदौ २५ | बिहान ०८:०५ बजे

काठमाडौं । सत्ता गठबन्धनका पाँच दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । बिहान नौ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने निर्णय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी, मन्त्रिपरिषदको पूर्णता लगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ । गत २०७४ भदौ २९ मा शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकार र एमसीसीबीच ५ सय मिलियन डलर (करिब ५५ अर्ब रुपैयाँ) अनुदान सहयोग सम्बन्धी सम्झौता भएको थियो ।
सम्झौता अनुमोदन गर्न केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ असार ३० मा प्रतिनिधिसभामा दर्ता गराएको थियो । तर दलहरूबीच आपसमा सहमति हुन नसक्दा संसदबाट एमसिसी अनुमोदन हुन सकेको छैन ।






















