ओली-सुमार भेटवार्ता सकियो, चारदिने भ्रमणमा शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यसूची तय


काठमाडौं । वर्तमान सरकारको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओली र मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष फातिमा जेड सुमारबीच भेटवार्ता सकिएको छ ।

ओलीलाई भेट्न बिहीबार दिउँसो दुई बजे ओली निवास बालकोटमा सुमारसहितको प्रतिनिधिमण्डल पुगेको थियो । सुमारसहित प्रतिनिधिमण्डलसँगको भेटवार्तामा अध्यक्ष ओली, स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापा सहभागी थिए ।
दुई प्रतिनिधिमण्डलबीच एमसीसीको विषयमा छलफल भएको हो । बालकोट स्रोतका अनुसार भेटमा एमालेले पार्टीमा छलफल गरेपछि एमसीसीको विषयलाई टुंगो लगाउने बताएको छ । सुमारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र अमेरिकी सैन्य गठबन्धनबीच कुनै सम्बन्ध नरहेको जानकारी गराइन् ।
उनले कुनै पनि सैन्य प्रयोजनका निम्ति अनुदान कोषको प्रयोग गर्नबाट निषेध गरेको बताइन् । एमसीसीको टोली भेटवार्ता सकिएर बालकोटबाट फर्किएको छ । संसदबाट एमसीसी पास गर्ने वा नगर्ने बहस चलिरहेको बेला उपाध्यक्ष सुमारसहितको टोली नेपाल आएर प्रमुख प्रतिपक्ष दलसँग भेट गरेको हो । चारदिने भ्रमणमा नेपाल आएकी सुमारले शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम तय गरेकी छिन् ।

सुमारले काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भटटराई, अर्थमन्त्री जनार्दन शर्मालगायतका नेताहरुसँग भेटवार्ता गर्ने कार्यसूची तय गरेको छ ।
प्रधानमन्त्री देउवालाई सुमारले शुक्रबार अपरान्ह भेट गर्ने कार्यतालिका तय भएको सचिवालय स्रोतले जनाएको छ । उनी बिहीबार बिहान कतार एयरको जहाजबाट त्रिभुवन विमानस्थल अवतरण गरेकी हुन् ।






















