देश

तीजमा हुने भड्‌किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक छ : राष्ट्रपति भण्डारी

जगत ठाडा मगर
२०७८ भदौ २४ | बिहान ०८:०५ बजे

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले तीज मनाउने सन्दर्भमा हुने भड्‌किलोपन र बढी खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक रहेको बताएकी छन् ।

हरितालिका तीजको अवसरमा बिहीबार शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले तीज पर्वको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्त्वको जगेर्ना गर्न यो पर्व मनाउनु पर्ने बताएकी हुन् । राष्ट्रपति भण्डारीले तीजले राष्ट्रलाई पनि भावनात्मक एकताको सुत्रमा आवद्ध गर्न मद्दत पुर्‍याउने बताएकी छन् ।

‘सांस्कृतिक र धार्मिक पर्वका रूपमा हरितालिका तीजको नेपाली समाजमा महत्त्वपूर्ण स्थान रहेको छ। भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने यस पर्वमा आफ्नो र आफ्नो परिवारजनको कल्याणको लागि तृतीयाका दिन शिव–पार्वतीको र पञ्‍चमीका दिन सप्तऋषिको पूजा‚ उपासना गर्नाले मनोकामना पूरा हुने विश्‍वास रहिआएको छब। विवाहपश्चात् महिलाहरू आफ्नो जन्मघर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाजलाई छोडेर कर्मघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा समेत तीज पर्वलाई महिलाहरूले लिएको पाइन्छ,’ राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ, ‘यसैगरी‚ तीज पर्वले चेली–माइती‚ साथी–सङ्गी‚ परिवार एवं आफन्तजन बीचको सम्बन्धलाई प्रगाढ बनाउनुका साथै समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सूत्रमा आवद्ध गर्न मद्दत पुर्‍याउँदछ भन्ने मलाई लाग्दछ।’

राष्ट्रपति भण्डारीले हरितालिका तीजले हाम्रो समाजमा विद्यमान महिलाविरूद्ध हुने सबै प्रकारका विभेद र असमानताहरूको अन्त्य गर्दै सभ्य समतामूलक एवं प्रगतिशील समाजको निर्माण गर्न हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।

‘कोभिड-१९ को सङ्क्रमणबाट जोगिन जनस्वास्थ्यको मापदण्डहरू पालना गर्दै सावधानीका साथ यो चाड मनाउनु हुनेछ भन्ने आशा गर्दछु,’ राष्ट्रपति भण्डारीले भनेकी छन् ।

कमेन्टहरु