कांग्रेसमा गुट बन्ने र भत्किने क्रम जारी


काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा नयाँ गुट बन्ने र भत्किने क्रम जारी रहेका छ ।
संस्थापन शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरू विभिन्न गुट–उपगुट बनाउन र भत्काउनतिर लागेका छन् । कांग्रेसमा विगतदेखि संस्थापन पक्ष र संस्थापन इतर गरी २ गुट सक्रिय थिए । सभापति देउवालाई यसपटक आफ्नै समूहका विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले साथ छोडेका छन् ।
निधिले सम्पर्क कार्यालय खोलेर छुट्टै गुटको अभ्यास गरिसकेका छन् भने श्रेष्ठले गृह जिल्ला स्याङ्जाबाट सभापतिमा उठ्ने घोषणा गरिसकेका छन्। अर्कोतर्फ, आफ्नो समूहबाट सभापतिमा आकांक्षी देखिएका ५ जनालाई दायाँ–बायाँ राखेर शीर्ष नेता पौडेलले साझा उम्मेदवार तय गर्ने घोषणा गरेका छन्।
पौडेल समूहमा सभापतिका आकांक्षीहरू बढी देखिएर व्यवस्थापनको समस्या देखिएको छ । १३ औं महाधिवेशनमा पौडेल समूहमा रहेकामध्ये १४ औं महाधिवेशनसम्म आइपुग्दा ५ जना सभापतिका मुख्य दाबेदार देखिएका हुन् । प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, डा. शेखर कोइराला, सुजाता कोइराला र रामचन्द्र पौडेल आफै पनि हुन्।
त्यस्तै, कोइराला परिवारभित्रै ३ जना सभापतिका दाबेदार निस्किएका छन् । महामन्त्री शशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइराला हुन् । सुजाताले १३औं महाधिवेशनमा पनि सभापतिको दाबी गरेकी थिइन् । सुजाता भन्छिन्, ‘म पछि हट्दिनँ, मैले पहिला पनि छाडेकै हो।’
सभापतिमा दाबेदारी दोहोर्याउने सोचमा रहेका शीर्ष नेता कृष्णप्रसाद सिटौला भने वडा अधिवेशनअघि रिजर्भ बसेका छन् । वडा अधिवेशन सकिएपछि मात्र उनले उम्मेदवारीबारे मुख खोल्ने नेताहरू बताउँछन्।






















