एमसीसी पास गर्ने जिम्मा हाम्रो होइन, यो अहिले धेरै डिबेटेवल छ : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी पास गर्ने जिम्मा आफुहरुको नभएको बताएका छन् ।
बुधबार पार्टीका सांसदहरुसँगको छलफलमा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमसीसी आफुहरुले सम्झौता समेत नगरेकाले अध्ययनपछि मात्रै पार्टी निर्णयमा पुग्ने बताएका हुन् । ‘एमसीसी अहिले छलफल र डिबेटको रुपमा आएको छ । त्यसलाई छलफलमा जान दिउ न ! दलहरूलाई धारणा बनाउन दिऊ, तर्कहरु गर्न दिउ, अर्को कुरा यो पास गर्ने जिम्मा पनि हाम्रो होइन’ ओलीले भने ।
उनले `यो सन्धि हामीले गरेको पनि होइन र यो अभिभारा अहिले हाम्रो काँधमा पनि छैन´ भन्दै संसदमा एमसीसीको प्रस्ताव आएको खण्डमा त्यतिबेला गम्भिरतापूर्वक विचार र निर्णय गर्ने तर अहिले यसमा धेरै अग्रसर नहुन आफ्ना सांसदहरुलाई निर्देशन समेत दिए । ‘यो त अहिले धेरै डिवेटेवल छ यस्तो प्रश्नमा अहिले हतारिनु पर्दैन’ ओलीको भनाइ छ।
सत्ता गठबन्धनले सोधेको प्रश्नको जवाफ नआएको भनिरहेको भन्दै प्रश्न सोधिए पनि एमसीसीको मुल सम्झौता नफेरिने बताए । उनले देश र आम जनताको हित र ईच्छा विपरीत एमालेले निर्णय गर्न नसक्ने पनि बताए । ‘हामी नेपाली जनता रुष्ट हुन्छन् भने हामी त्यसमा अघि बढ्दैन’ ओलीको भनाइ छ ।






















