झाँक्रीको जन्मस्थान गुल्मीमा एकीकृत समाजवादी रोज्ने एमालेका जनप्रतिनिधि शून्य


गुल्मी । गुल्मीमा नेकपा एमालेका कुनै पनि जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा गएका छैनन् । एमाले विभाजनपछि नयाँ दल रोज्न तोकिएको समयावधिमा कसैले पनि नयाँ दल नरोजेका हुन् ।
जनप्रतिनिधिले दल रोज्न जिल्ला निर्वाचन कार्यालय गएर सनाखत गर्ने व्यवस्था थियो । तर जिल्ला निर्वाचन कार्यालय गुल्मीमा कसैले पनि सनाखत गर्न नआएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । एमाले विभाजनपछि माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी बनेको हो ।
दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा १२ वटा स्थानीय तह रहेका छन् । जसअनुसार ७ वटा स्थानीय तहमा अध्यक्ष र उपाध्यक्ष र ३ वटा स्थानीय तहमा उपाध्यक्षमा एमालेबाट निर्वाचित जनप्रतिनिधि रहेका छन् । कुल ९३ वटा वडा रहेको जिल्लामा वडाअध्यक्ष र सदस्य गरी ३ सयभन्दा बढी एमालेका जनप्रतिनिधि रहेका छन् ।
एमाले विभाजन हुनु अगावै गोकर्ण विष्ट माधव नेपाल पक्षमा र प्रदीप ज्ञवाली केपी ओली पक्षमा हुँदा दुवै पट्टि बराबरीको हाराहारीमा थिए । पार्टी विभाजनपछि विष्ट एमालेमै रहेका कारण गुल्मीमा विभाजनको असर देखिएको बताइएको छ ।
एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीको जन्मस्थल पनि गुल्मी नै हो ।






















