कांग्रेसले लड्न आँट गरेको छैन, माधव नेपालको प्युसो : ओली

जगत ठाडा मगर
२०७८ भदौ २२ | मध्यान्ह ०४:०५ बजे

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको अगुवाइमा एमाले समाप्त पार्ने अभियान चलिरहेको बताएका छन् ।
मंगलबार पोखरामा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमाले समाप्त पार्न प्रदेशहरुमा पनि मन्त्री बाँड्दै हिँडेको बताए ।
स्थानीय तहमा पनि मेयरको टिकट दिउँला भनेर आश्वासन दिएर प्रलोभनमा पार्ने प्रयास भइरहेको भन्दै उनले अघि भने, ‘ कांग्रेसले लड्ने आँट गरेको छैन, माधव नेपालको प्युसो !’
हिजोको दिनमा नेकपा रहँदा पनि प्रचण्ड र माधव नेपालले आफूलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउने र पार्टी कब्जा गर्ने प्रयास गरेको ओलीले बताए ।
ओलीले भने, ‘थुप्रै नेताहरु जाउँ कता जाउँ भनेर बसेको बेला युवा, विद्यार्थी साथीहरु मसाल बोकेर निस्किनुभयो र एमाले कब्जा हुँदैन भनेर उठ्नुभयो ।’






















