उपप्रधानमन्त्रीको तलब ७७ हजार ६४० रुपैयाँ, अन्य पदाधिकारीको कति पुग्यो ?


काठमाडौं । नयाँ आर्थिक वर्ष २०७८/७९ कार्यान्वयन भए सँगै सरकारी कोषबाट तलब भत्ता खाने कर्मचारी तथा पदाधिकारीको सेवा सुविधामा समेत वृद्धि भएको छ ।
सरकारले अध्यादेशबाट ल्याएको बजेटमार्फत कर्मचारीको पारिश्रमिक मासिक २ हजार रुपैयाँले बढाउने निर्णय गरेको थियो । सोही अनुसार पदाधिकारीहरुको तलबमा समेत वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार नेपाल सरकारले ३ भदौमा नेपाल सरकारका विभिन्न ओहदाका पदाधिकारीको तलबमान निर्धारण गर्ने निर्णय गरेको हो । बढेको तलबमान १ साउनबाटै कार्यान्वयनमा आउने छ ।
अर्थले भने सोमबार राजपत्रमा प्रकाशित गर्दै पदाधिकारीको तलबमान सार्वजनिक गरेको हो । बढेको तलब अनुसार उपप्रधानमन्त्रीको तलब ७७ हजार ६४० रुपैयाँ पुगेको छ । मन्त्रीको तलब ७२ हजार ७३० रुपैयाँ पुगेको छ । त्यस्तै राज्यमन्त्रीको ६९ हजार ३० रुपैयाँ र सहायक मन्त्रीले ६७ हजार ५ सय ३० रुपैयाँ पुगेको छ ।
सभामुख र विपक्षी दलका नेताले समान तलब ७२ हजार ७३० रुपैयाँ पाउँछन् । संघीय सांसदको तलब भने ६६ हजार २ सय ४० रुपैयाँ पुगेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको तलब ६९ हजार ३० रुपैयाँ तोकिएको छ । प्रध्यानन्यायाधिशले मासिक ८८ हजार ९५० रुपैयाँ पारिश्रमिक बुझ्छन् । न्यायाधिशको तलब ७३ हजार ९५० रुपैयाँ रहेको छ।
संवैधानिक निकायका प्रमुखको तलब ७० हजार १ सय ८० रुपैयाँ तोकिएको छ । निजामती, सुरक्षा तथा शिक्षकहरुको बढेको तलब भने अर्थले यसअघि नै सार्वजनिक गरेको थियो ।






















