बिश्व

उत्तरी ध्रुवको चिसो समुद्री मार्गले कसरी जोडिरहेछ चीन र रुसलाई

एजेन्सी
२०८३ साउन ३१ | बिहान ०७:०४ बजे

मे महिनाको अन्त्यतिर विशाल ‘क्रिस्टोफ डे मार्गेरी ट्यांकर’ ‘नर्दर्न सि रुट (एनएसआर)’ हुँदै अघि बढ्दा समुद्र अझै बाक्लो बरफले ढाकिएको थियो । यस जहाजको लागि यो सिजनको पहिलो यात्रा थियो । जहाज भर्खरै अमेरिकी प्रतिबन्धमा परेको रुसको आर्कटिक क्षेत्रमा रहेको ‘आर्कटिक एलएनजी–२’ नामक तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) केन्द्रसँग जोडिएको एउटा बन्दरगाहमा रोकिएको थियो । त्यसपछि अधिकांश यात्रामा आइसब्रेकरको सहयोगमा यो ट्यांकर उत्तरी ध्रुवीय (आर्कटिक) क्षेत्र र बेरिङ सागरका हजारौँ माइल पानी पार गर्दै अघि बढ्यो ।

करिब दुई साताको यात्रा पूरा गरेर जहाज रुसको सुदूरपूर्वमा अवस्थित सोभियतकालमा सैन्य बस्ती रहेको कामचात्का प्रायद्वीप पुग्यो । त्यहाँ एउटा एकान्त खाडीमा जहाज प्रवेश गर्‍यो ।

भू–उपग्रह तस्बिरमा क्रिस्टोफ डे मार्गेरी एउटा विशाल तैरिरहेको अर्को भण्डारण जहाज (इकाइ)सँगै जोडिएको देखिन्छ । यस्तो तरिका सामान्यत एक जहाजबाट अर्को जहाजमा सामान सार्दा अपनाइन्छ । मरीन ट्राफिकको तथ्यांकअनुसार ट्यांकरले प्रतिबन्धित कार्गो उक्त इकाइमा खसालेको देखिन्छ र त्यसपछि आर्कटिकतर्फ फर्किएको थियो ।

वर्षको अधिकांश समय छिचोल्न नसकिने बरफले ढाकिने र गर्मीको छोटो अवधिमा मात्र आइसब्रेकरबिना सञ्चालन गर्न सकिने मस्कोको नियन्त्रणमा रहेको ‘नर्दर्न सी रुट’ अहिले विवादास्पद समुद्री मार्ग बनेको छ । यो क्षेत्रलाई विश्वका ठुला शक्तिबिच बढ्दो प्रतिस्पर्धाको नयाँ मैदानका रूपमा हेरिन थालेको छ ।

नर्वेस्थित सेन्टर फर हाई नर्थ लजिस्टिक्सले संकलन गरेको समुद्री यातायातसम्बन्धी तथ्यांकको विश्लेषण गर्दा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेयता यस मार्ग हुँदै हुने अन्तर्राष्ट्रिय व्यापारमा एउटा विदेशी देशको प्रभुत्व देखिएको छ । र, त्यो देश हो चीन ।

यो व्यापारले रुसको युद्धकालीन अर्थतन्त्रलाई बलियो बनाइरहेको छ भने चीनको ऊर्जा सुरक्षालाई पनि सहयोग गरिरहेको छ । यससँगै उक्त क्षेत्रमा चिनियाँ जहाज सञ्चालन समेत बढ्दै गएको छ । पश्चिमी देशहरूमा भने चीनको बढ्दो उपस्थितिले भविष्यमा यस क्षेत्रमा सैन्य प्रयोगको निम्त्याउन सक्ने भन्दै चिन्ता बढेको छ ।

क्रिस्टोफ डे मार्गेरी कामचात्का प्रायद्वीपबाट निस्किएको एक दिनपछि अमेरिकी प्रतिबन्धमा परेको अर्को ट्यांकर ‘आर्कटिक मुलान’ पनि त्यही खाडीको मुखमा पुग्यो । ट्रान्सपोंडरको तथ्यांकअनुसार केही दिन त्यहाँ रोकिएपछि त्यसलाई त्यही तैरिरहेको भण्डारण इकाइको छेउमा तानियो । त्यस क्रममा जहाजले करिब एक दिन आफ्नो ट्र्याकिङ उपकरण बन्द गरेको थियो ।

आकाशमा बादल रहेकाले त्यसपछि के भयो भन्ने कुरा भू–उपग्रहले स्पष्ट रूपमा कैद गर्न सकेन । तर एक दिनपछि जहाजको ट्रान्सपोंडर फेरि सक्रिय भयो र सम्भवतः रुसी कार्गो बोकेर चीनको बेइहाइ बन्दरगाहतर्फ अघि बढ्यो ।

अहिले अमेरिकाको नेतृत्वमा मध्यपूर्वमा जारी अर्को द्वन्द्वका कारण तेल र ग्यास बोकेका जहाजहरू अलपत्र परेका छन् र विश्वव्यापी व्यापार प्रभावित भएको छ । यस्तो अवस्थामा चीन र रुसले विश्वको उत्तरी ध्रुवीय किनारामा रहेको यो वैकल्पिक समुद्री मार्गलाई अहिलेसम्मकै सबैभन्दा व्यस्त र चलायमान बनाइरहेका छन् ।

११ दिनपछि खिचिएको भू–उपग्रह तस्बिरमा आर्कटिक मुलान दक्षिणी चीनको एउटा बन्दरगाहमा रोकिएको देखिन्छ । व्यापारिक सूचना कम्पनी केप्लरका वरिष्ठ एलएनजी विश्लेषक चाल्र्स कोस्टेरुसका अनुसार गत सेप्टेम्बरदेखि उक्त बन्दरगाहको एउटा टर्मिनललाई ‘प्रतिबन्धित रुसी एलएनजी कार्गो रिसिभ गर्न छुट्टाइएको’ छ ।

युरोपेली अन्तरिक्ष एजेन्सीले खिचेको ‘सिन्थेटिक एपर्चर रडार’ तस्बिरमा पनि आर्कटिक मुलान जुन १८ मा रुसको बेचेभिन्स्काया खाडीबाट चीनतर्फ जाँदै गर्दा ओखोत्स्क सागर नजिक देखिएको अनुमान गर्न सकिन्छ ।

समुद्री यातायातसम्बन्धी तथ्यांकले जुलाईमा पनि यही जहाजहरूबीच त्यस्तै आदानप्रदान दोहोरिएको देखाउँछ । यसले एनएसआर अमेरिकी प्रतिबन्धमा परेको इन्धन चीनसम्म पुर्‍याउने तीव्र वैकल्पिक मार्गका रूपमा विकास भइरहेको देखाउँछ ।

अहिले अमेरिकाको नेतृत्वमा मध्यपूर्वमा जारी अर्को द्वन्द्वका कारण तेल र ग्यास बोकेका जहाजहरू अलपत्र परेका छन् र विश्वव्यापी व्यापार प्रभावित भएको छ । यस्तो अवस्थामा चीन र रुसले विश्वको उत्तरी ध्रुवीय किनारामा रहेको यो वैकल्पिक समुद्री मार्गलाई अहिलेसम्मकै सबैभन्दा व्यस्त र चलायमान बनाइरहेका छन् ।

त्यसैले लामो समयदेखि आफूले ‘नजिकको आर्कटिक राष्ट्र’ भन्दै उपस्थिति विस्तार गर्न चाहेको चीनकालागि यो वर्ष महत्त्वपूर्ण बनेको छ । आगामी दशकहरूमा बरफ पग्लिँदै जाँदा यो मार्ग लामो समयसम्म सञ्चालन गर्न सकिने र थप नयाँ समुद्री बाटा खुल्न सक्ने सम्भावना छ ।

‘अहिले चीनसामु ठुलो नयाँ क्षेत्र खुलेको छ,’ ‘आर्कटिक एलएनजी–२ परियोजना’ र यस क्षेत्रमा चीनको गतिविधिबारे जानकार ‘जापान अर्गनाइजेसन फर मेटल्स एन्ड इनर्जी सेक्युरिटी’का ऊर्जा व्यवसाय इकाइका महानिर्देशक डाइसुके हारादाले भने ।

आर्कटिकका सपना

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लामो समयदेखि रुसको समानान्तर रुपमा आर्कटिक तटीय क्षेत्रमा फैलिएको करिब ३,५०० माइल लामो मार्गलाई व्यापारको प्रमुख समुद्री धमनी बनाउने सपना देख्दै आएका छन् । यसले रुसी बन्दरगाह तथा तेल र ग्यास क्षेत्रमा लगानी बढाउने उनको अपेक्षा छ ।

image (1)

हालैका महिनामा उनले लाल सागर र स्ट्रेट अफ होर्मुज आसपासको युद्धका कारण व्यापारमा आएको अवरोधले यो मौसमी समुद्री मार्ग ‘सबैभन्दा सुरक्षित, भरपर्दो र प्रभावकारी’ रहेको दाबी गरेका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि वर्षौंदेखि आर्कटिक हुँदै जाने ‘पोलर सिल्क रोड’ को सपना देख्दै आएका छन् । यो उनको प्रमुख बेल्ट एन्ड रोड पूर्वाधार अभियानको बरफक्षेत्रसम्म विस्तारका रूपमा अघि सारिएको योजना हो । सन् २०१८ मा सीले अघि सारेको यस योजनाले रुसदेखि स्क्यान्डिनेभिया र त्यसभन्दा परसम्म आर्कटिक क्षेत्रमा चीनको प्रभाव विस्तार गर्ने लक्ष्य राख्छ ।

तर ध्रुवीय बन्दरगाह र पूर्वाधारमा हुने अपेक्षित ठुलो चिनियाँ लगानी भने व्यवहारमा आएन । मार्गमा लाग्ने उच्च लागत र जोखिमपूर्ण अवस्थाले पुटिनको योजनालाई पहिल्यै जटिल बनाएको थियो । त्यसमा युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय कम्पनीहरू रुसको आर्कटिक क्षेत्रबाट बाहिरिए । चीनका सरकारी स्वामित्वका ठुला जहाज तथा ऊर्जा कम्पनीहरू पनि पछि हटे ।

तर नर्वेको ट्रोम्सोस्थित द आर्कटिक युनिभर्सिटीका प्राध्यापक मार्क लान्टेग्नेका अनुसार यस अवस्थाले बेइजिङका लागि ‘अवसरको ढोका’ खोलिदिएको छ । मस्कोलाई यो समुद्री मार्ग विकास गर्न सहयोग गर्ने प्रमुख साझेदारका रूपमा चीनले आर्कटिकमा आफ्नो भूमिका विस्तार गर्न सक्छ ।

यसै साता सिंगापुरमा दर्ता भएको चिनियाँ व्यवस्थापनको नयाँ समुद्री कम्पनी ‘सी लेजेन्ड’ ले चीन र युरोपबीच मौसमी रूपमा नियमित कन्टेनर सेवा सुरु गर्ने अपेक्षा गरिएको छ । कम्पनीले २० दिनको यात्रा अवधि खुलाएको छ, जुन स्वेज नहर हुँदै हुने सामान्य यात्राको करिब आधा हो । कम्पनीले यो मार्गबाट ‘भूराजनीतिक अवरोधको जोखिमबाट बच्न’ सकिने दाबी गरेको छ ।

अर्को चिनियाँ कम्पनी न्यु न्यु सिपिङ पनि सन् २०२२ मा रुस–युक्रेन युद्ध सुरु भएपछि स्थापना भएको थियो । यसले गत महिना चीनको तियानजिनबाट रुसको सबैभन्दा ठुलो आर्कटिक बन्दरगाह मुर्मान्स्कसम्म नयाँ सेवा सुरु गर्‍यो । यसअघि नै कम्पनीले एकतर्फ चीनका औद्योगिक सामान र अर्कोतर्फ रुसी कच्चा पदार्थ ढुवानी गर्दै आएको थियो ।

चाइना सिपओनर्स एसोसिएसनले प्रकाशित गरेको तालिकाअनुसार यस सिजन कम्तीमा छवटा चिनियाँ समुद्री कम्पनीले कन्टेनर, बल्क र बहुउद्देश्यीय जहाज प्रयोग गर्दै एनएसआरमा ५० भन्दा बढी यात्रा गर्ने अपेक्षा गरिएको छ । तीमध्ये अधिकांश यात्रा चीन र रुसबीच हुनेछन् ।

अमेरिका–इरान युद्धका कारण पश्चिम एशियाबाट एलएनजी निर्यात रोकिएपछि यस वर्षको पहिलो छ महिनामा रुसबाट चीनमा सबै मार्ग हुँदै भएको एलएनजी आयात परिमाणका आधारमा करिब २८ प्रतिशतले बढेको छ । प्रतिबन्ध नलागेका यामाल एलएनजीजस्ता रुसी केन्द्रबाट हुने रुसी एलएनजीको सबैभन्दा ठुलो खरिदकर्ता भने युरोप नै हो । तर त्यो एनएसआरमार्फत हुने गरेको छैन ।

एनएसआरको यातायात निगरानी गर्ने नर्वेको नर्ड युनिभर्सिटीअन्तर्गत ‘सेन्टर फर हाई नर्थ लजिस्टिक्स’का प्रबन्ध निर्देशक केजेल स्टोकभिकले भने, ‘अहिले यो मार्ग वास्तवमै चीन र रुसले मात्र प्रयोग गरिरहेका छन् । उनीहरूले यसलाई आफ्नो घनिष्ठ सहकार्यको महत्त्वपूर्ण हिस्सा मानेका छन् ।’

यद्यपि स्वेज नहरजस्ता प्रमुख समुद्री मार्गको तुलनामा एनएसआरको व्यापार अझै निकै सानो छ । यहाँ रुसी तेल र ग्यासको व्यापार हावी छ, जसको ठुलो हिस्सा केही अन्य एसियाली एलएनजी खरिदकर्तासहित चीनतर्फ जाने गर्छ ।

अमेरिका–इरान युद्धका कारण पश्चिम एशियाबाट एलएनजी निर्यात रोकिएपछि यस वर्षको पहिलो छ महिनामा रुसबाट चीनमा सबै मार्ग हुँदै भएको एलएनजी आयात परिमाणका आधारमा करिब २८ प्रतिशतले बढेको छ । प्रतिबन्ध नलागेका यामाल एलएनजीजस्ता रुसी केन्द्रबाट हुने रुसी एलएनजीको सबैभन्दा ठुलो खरिदकर्ता भने युरोप नै हो । तर त्यो एनएसआरमार्फत हुने गरेको छैन । सन् २०२७ मा समुद्री मार्गबाट रुसी एलएनजी खरिदमा युरोपेली संघले लगाउने प्रस्तावित प्रतिबन्धले यो अवस्था परिवर्तन गर्न सक्छ ।

सेन्टर फर हाई नर्थ लजिस्टिक्सको जहाजसम्बन्धी तथ्याङ्क र जहाज दर्ता पहिचान नम्बरका आधारमा गरिएको विश्लेषणअनुसार गत वर्ष एनएसआर पूर्ण रूपमा पार गरेर चीनतर्फ गएका आठवटै तेल ट्यांकरलाई प्रतिबन्धित कार्गो ओसारेको भन्दै अमेरिकाले कालोसूचीमा राखेको थियो ।

विशेषज्ञहरूका अनुसार तथाकथित ‘स्याडो फ्लीट’ अर्थात् प्रायः पुराना जहाजहरू र निगरानी छल्ने प्रविधि प्रयोग गर्ने जहाजहरूको संख्या बढ्दै जाँदा यस मार्गमा वातावरणीय जोखिम पनि बढिरहेको छ । विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीनबाट आएको मागले यसलाई थप बढावा दिएको छ ।

विश्लेषक तथा उद्योगका जानकारहरूका अनुसार चिनियाँ संस्थाहरूले अमेरिकी प्रतिबन्धमा परेको आर्कटिक एलएनजी–२ परियोजनालाई आवश्यक महत्त्वपूर्ण उपकरणसमेत गोप्य रूपमा उपलब्ध गराएका छन् । उक्त परियोजनामा चिनियाँ दुई सरकारी कम्पनी, फ्रान्सको टोटलएनर्जिज र जापानी समूहलगायत विदेशी लगानीकर्ता थिए । तर उनीहरूले आफ्नो लगानी रोकिसकेका वा परियोजनाबाट बाहिरिसकेका छन् ।

आर्कटिक एलएनजी–२ र रुसको यामाल एलएनजी परियोजनामा चीनको संलग्नताले उसका कम्पनीहरूलाई महत्त्वपूर्ण अनुभव पनि दिलाएको छ ।

ऊर्जा विश्लेषक तथा इक्ल्यान्ड इनर्जी एएसका निर्देशक केजेल इक्ल्यान्डका अनुसार चीनले यस्तो भूमिका खेल्न सक्नुको मुख्य कारण अमेरिकी प्रतिबन्धको प्रभावकारी कार्यान्वयन र त्यसपछिको निगरानी कमजोर हुनु हो । ‘यस मार्गमा हुने ऊर्जा व्यापारका विषयमा रुसका लागि चीनको भूमिकालाई कम आँक्न मिल्दैन,’ उनी भन्छन् ।

सतर्क पश्चिम

तर पश्चिमी देशहरूले पनि यो गतिविधिलाई नजिकबाट नियालिरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड नजिक उत्तर एट्लान्टिक क्षेत्रमा रुसी र चिनियाँ जहाजले गस्ती गर्न सक्ने सम्भावनालाई अमेरिकी नियन्त्रणमा डेनिस टापु क्षेत्रलाई जबर्जस्ती लिन सक्ने आफ्नो धम्कीको आधार बनाएका छन् । यस विषयले वासिङ्टन र युरोपका उसका नेटो सहयोगीबीच ऐतिहासिक मतभेदसमेत निम्त्याएको छ ।

चीनले आफ्नै आइसब्रेकर क्षमता विस्तार गरिरहेको अवस्थामा अमेरिकाले पनि फिनल्यान्डसँग जहाज निर्माण सम्झौता गरेर आफ्नो आइसब्रेकर क्षमता विस्तार गर्ने तयारी गरेको छ । युरोपेली संघकी विदेश नीति प्रमुख काया कालासले यसै वर्षको सुरुआतमा चीनले आर्कटिकका समुद्री मार्ग र आपूर्ति शृंखलालाई हतियारका रूपमा प्रयोग गर्न सक्ने चेतावनी दिएकी थिइन् । जुलाईमा नेटो महासचिव मार्क रुटेले पनि ‘रुस र चीनले आर्कटिक क्षेत्रमा थप पहुँच हासिल गर्दै जाने ठुलो जोखिम’ सम्बोधन गर्न गठबन्धनले समन्वय गर्नुपर्ने बताएका थिए ।

image (2)

पश्चिमी पर्यवेक्षकहरू उच्च उत्तरी क्षेत्रमा चीन–रुस सुरक्षा सहकार्य विस्तार हुन थालेका संकेतबाट पनि चिन्तित छन् । सन् २०२४ मा अलास्का नजिक गरिएको संयुक्त बमबारी अभ्यास र आर्कटिक क्षेत्रमा गरिएको संयुक्त तटरक्षक अभियानलाई यसको उदाहरणका रूपमा लिइएको छ ।

चिनियाँ अनुसन्धान अभियानहरूले पनि चिनियाँ सेनालाई महत्त्वपूर्ण तथ्यांक उपलब्ध गराउन सक्ने उनीहरूको भनाइ छ । हाल चीनले आफ्नो परिस्किृत हुँदै गएको सबमरिनलाई चार महिनाको अभियानका लागि ध्रुवीय क्षेत्रमा पठाएको छ । गत वर्षको एउटा अनुसन्धान अभियानमा आर्कटिकको बरफमुनि पनडुब्बी उपकरणसमेत पठाइएको थियो ।

बेइजिङले भने यस्ता आरोपलाई पटक–पटक अस्वीकार गर्दै आएको छ । चीनका अनुसार यस्ता दाबीले ‘चीन खतरनाक छ’ भन्ने धारणा बढाउने र क्षेत्रीय विभाजन निम्त्याउने उद्देश्य राख्छन् । चीनले ध्रुवीय क्षेत्रमा आफ्ना गतिविधि अन्तर्राष्ट्रिय कानुनअनुसार ‘शान्ति, स्थिरता र दिगो विकास प्रवद्र्धन गर्न’ केन्द्रित रहेको बताउँदै आएको छ ।

बेइजिङले आफ्नो निकट साझेदार रुससँगको व्यापारको पनि लामो समयदेखि बचाउ गर्दै आएको छ र एकपक्षीय प्रतिबन्धलाई अस्वीकार गर्छ ।

उता मस्को भने आर्कटिक क्षेत्रमा चिनियाँ सुरक्षा संलग्नताको ढोका खोल्न अझै सावधान रहेको मानिन्छ । रुसको प्राथमिकता चीनले ऊर्जा खरिदलाई निरन्तरता दिँदै जाओस् र आकर्षक नर्दर्न सी रुटको विकास तथा निर्माणमा आफ्नो भूमिका विस्तार गर्दै जाओस् भन्ने देखिन्छ ।

‘अर्को कदम’

गत वर्ष सेप्टेम्बरको एक घमाइलो दिन चीनको सांघाईबाट धेरै टाढा नरहेको बन्दरगाह सहर निङ्बोमा समुद्री यातायात कम्पनी सी लेजेन्डका उच्च अधिकारीहरू स्थानीय यातायात अधिकारीहरूसँग बन्दरगाहको एउटा टर्मिनलमा भेला भएका थिए ।

उनीहरू क्वे क्रेनमुनि जम्मा भएर एउटा महत्त्वपूर्ण क्षणको खुसी मनाउँदै तस्बिर खिचिरहेका थिए । त्यो बेलायततर्फ जान लागेको मालवाहक जहाज ‘इस्तानबुल ब्रिज’मा अन्तिम कन्टेनर लोड गरिएको क्षण थियो ।

करिब २० दिन लागेको त्यो परीक्षण यात्रा अब पहिलोपटक नियमित समुद्री सेवा बन्ने तयारीमा छ । यसको उद्देश्य चीनमा उत्पादित विद्युतीय तथा हाइब्रिड कार, लिथियम ब्याट्री र सौर्य ऊर्जा उत्पादन सामग्री युरोप पुर्‍याउनु हो । यस सिजन युरोपतर्फ जाने आठ यात्रामध्ये यो सप्ताहन्तको यात्रा पहिलो हुनेछ ।

‘हालको जटिल र अस्थिर अन्तर्राष्ट्रिय परिस्थितिका बिच भरपर्दो ढुवानी सेवा उपलब्ध गराउनु’ आफ्नो कम्पनीको लक्ष्य रहेको सी लेजेन्डका प्रमुख कार्यकारी अधिकृत ली स्याओबिनले गत अक्टोबरमा चिनियाँ वित्तीय पत्रिका काइशिनलाई दिएको अन्तर्वार्तामा बताएका थिए ।

यसै महिनाको सुरुआतमा रुसी आणविक ऊर्जा निकाय रोसाटमका प्रमुख अलेक्सी लिखाचेभले यो ‘पूर्णस्तरको नियमित समुद्री सेवा’लाई युरोपतर्फ नियमित र मौसमी ढुवानी विकास गर्ने ‘अर्को कदम’ भनेका थिए । नर्दर्न सी रुट (एनएसआर) रोसाटमले सञ्चालन गर्छ ।

सी लेजेन्ड र न्यु न्यु सिपिङ दुवैले हालका वर्षमा मात्रै यो मार्गमा सेवा सुरु गरेका हुन् । यसको केही वर्षअघि अर्थात् सन् २०२२ मा चीनको सरकारी स्वामित्वको विशाल समुद्री कम्पनी कोस्को सहित अन्य अन्तर्राष्ट्रिय ढुवानी कम्पनीहरू पनि यो मार्गबाट पछि हटेका थिए ।

सन् २०२३ देखि यो मार्गमा सञ्चालन गर्दै आएको न्यु न्यु सिपिङले त्यही वर्ष आफ्नो एउटा जहाज न्यु न्यु पोलार बेयर ले बाल्टिक सागरमा समुद्री केबल र एउटा पाइपलाइनमा क्षति पुर्‍याएको आरोप लागेपछि अन्तर्राष्ट्रिय ध्यान आकर्षित गरेको थियो । कम्पनी दर्ता भएको हङकङमा यस घटनासम्बन्धी मुद्दा आगामी वर्षको सुरुआतमा सुनुवाइ हुने तयारीमा छ ।

अमेरिकास्थित सेन्टर फर नेभल एनालिसिसकी वरिष्ठ अनुसन्धान वैज्ञानिक तथा चीन–रुस मामिलाकी विज्ञ एलिजाबेथ विस्निकका अनुसार आर्कटिकमा नयाँ निजी कम्पनीमार्फत प्रवेश गर्नु बेइजिङको सावधानीको संकेत हुन सक्छ ।

यो मार्गबाट यात्रा गर्नु आफैँमा पश्चिमी प्रतिबन्ध उल्लङ्घन होइन । तर प्रतिबन्धमा परेका कम्पनीहरूसँग कारोबार गर्नुपर्ने जोखिम भने रहन्छ । ‘प्रतिबन्धबाट बच्न चीनले नयाँ कम्पनीहरू स्थापना गर्नुपरेको थियो,’ विश्निकले भनिन् ।

सन् २०२३ देखि यो मार्गमा सञ्चालन गर्दै आएको न्यु न्यु सिपिङले त्यही वर्ष आफ्नो एउटा जहाज न्यु न्यु पोलार बेयर ले बाल्टिक सागरमा समुद्री केबल र एउटा पाइपलाइनमा क्षति पुर्‍याएको आरोप लागेपछि अन्तर्राष्ट्रिय ध्यान आकर्षित गरेको थियो । कम्पनी दर्ता भएको हङकङमा यस घटनासम्बन्धी मुद्दा आगामी वर्षको सुरुआतमा सुनुवाइ हुने तयारीमा छ । जहाजका कप्तानले आपराधिक क्षतिलगायतका आरोप अस्वीकार गर्दै आफू दोषी नभएको बताएका छन् ।

आर्कटिकमा न्यु न्यु सिपिङको व्यवसाय रुसी व्यापारबाट प्रेरित हुँदै आएको छ । कम्पनीले पनि रुससँगको आफ्नो सम्बन्ध लुकाएको छैन । उसका अधिकारीहरू नियमित रूपमा रुसी बैठकहरूमा सहभागी हुँदै आएका छन् । साथै, कम्पनीले ध्रुवीय बन्दरगाहमा गहिरो पानीमा आधारित परियोजना निर्माणका लागि साझेदारी गर्ने विषयमा छलफल गरिरहेको बताइएको छ ।

गत एक वर्षमा केही अन्य चिनियाँ समुद्री कम्पनी पनि यो मार्गमा प्रवेश गरेका छन् । तर सबै कम्पनीका लागि यात्रा अझै सीमित र मौसममा अत्यधिक निर्भर छन् । चीनको युरोपसँग ठुलो व्यापार मौजाद रहेकाले युरोपतर्फ जाने जहाजका लागि यो मार्ग दुवैतर्फ कत्तिको व्यावहारिक हुन्छ भन्ने प्रश्न पनि उठेको छ ।

तर समुद्री यातायात कम्पनीहरू महत्त्वाकाङ्क्षी देखिन्छन् । यसै साता पत्रकारहरूसँग कुरा गर्दै सी लेजेन्डले आगामी एक दशकभित्र आर्कटिक मार्गमा ‘वर्षभरि नै समुद्री यातायात सञ्चालन’ गर्ने लक्ष्य राखेको बताएको छ ।

उत्तरी ध्रुवको भविष्य ?

यो मार्गको व्यावहारिकता र यसलाई विकास गर्न चाहने नेताहरूको सपना सधैँ प्रश्नको घेरामा रहँदै आएको छ । युक्रेन युद्धअघि नै ठुला अन्तर्राष्ट्रिय समुद्री कम्पनीहरू यो मार्गप्रति सशंकित थिए । अहिले पनि यो विवादास्पद नै छ ।

यो मार्गमा यात्रा गर्न रुसको रोसाटमअन्तर्गतको एउटा निकायमा दर्ता गर्नुपर्छ । यहाँ जहाज सञ्चालन गर्न मिल्ने मौसमी अवधि छोटो छ । मार्गमा मौसम र बरफको अवस्था निकै छिटो परिवर्तन हुन सक्छ । गर्मीमा समेत आइसब्रेकर वा विशेष बरफका लागि डिजाइन गरिएका जहाजबिना यात्रा गर्न सकिने अवस्थामा जहाज बरफमा फस्नु र उद्धारका लागि सहयोग माग्नुपर्ने घटना असामान्य होइन ।

नर्वेस्थित सेन्टर फर हाई नर्थ लजिस्टिक्सका स्टोकभिकले भने, ‘यदि तपाईं समुद्री मार्ग सञ्चालन गर्न चाहनुहुन्छ भने पूर्वानुमानयोग्यता एउटा महत्त्वपूर्ण विषय हो । यहाँ विभिन्न अवस्थाका कारण ढिलाइ हुन सक्छ ।’

कठोर आर्कटिक वातावरणमा तेल चुहावट तथा अन्य सुरक्षा दुर्घटनाको उच्च जोखिम र त्यसलाई नियन्त्रण गर्नुपर्ने चुनौती पनि यो मार्गप्रति आकर्षण घटाउने कारण हुन् । त्यस्तै, त्यहाँ जहाज सञ्चालन गर्दा हुने वातावरणीय क्षति पनि अर्को चिन्ताको विषय हो ।

दक्षिण कोरियाली समुद्री कम्पनी प्यानस्टारले अगस्ट २२ मा बुसानबाट एनएसआर हुँदै युरोपसम्म परीक्षण यात्रा गर्ने तयारी गरिरहेको छ । दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले आफ्नो देश ‘नर्दर्न सी रुटको युग सुरु गर्न नेतृत्वदायी भूमिका खेल्न’ दृढ रहेको बताएका छन् ।

क्षेत्रमा जहाजको आवागमन बढ्दा ‘सम्भावित रूपमा विनाशकारी वातावरणीय प्रभाव’ पर्न सक्ने भन्दै केही ठुला अन्तर्राष्ट्रिय लजिस्टिक कम्पनीहरूले यो मार्ग प्रयोग नगर्ने प्रतिबद्धतासमेत गरेका छन् ।

तर आगामी दशकहरूमा बरफ पग्लिँदै जाँदा समुद्री यातायात सञ्चालन हुने अवधि लम्बिन सक्ने र नयाँ मार्गहरू खुल्न सक्ने सम्भावनाबारे सरकारहरू पनि सचेत छन् । त्यसमध्ये रुसी तटरेखालाई पूर्ण रूपमा छाडेर उत्तरी ध्रुव पार गर्ने सम्भावित ट्रान्स–पोलर मार्ग पनि एक हो । चीनका लागि यसले उत्तर एट्लान्टिकसम्म पुग्ने तीव्र समुद्री बाटो उपलब्ध गराउन सक्छ ।

अन्य एसियाली देशहरूले पनि एनएसआरमार्फत समुद्री यातायात विस्तारसहित आर्कटिक क्षेत्रमा आफ्नो क्षमता बढाउने उपाय खोजिरहेका छन् ।

दक्षिण कोरियाली समुद्री कम्पनी प्यानस्टारले अगस्ट २२ मा बुसानबाट एनएसआर हुँदै युरोपसम्म परीक्षण यात्रा गर्ने तयारी गरिरहेको छ । दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले आफ्नो देश ‘नर्दर्न सी रुटको युग सुरु गर्न नेतृत्वदायी भूमिका खेल्न’ दृढ रहेको बताएका छन् ।

सांघाईस्थित इन्स्टिच्युट फर इन्टरनेसनल स्ट्राटेजिक एन्ड सेक्युरिटी स्टडिजका वरिष्ठ अनुसन्धानकर्ता चाओ लङका अनुसार यस समुद्री मार्गका अग्रणी प्रयोगकर्ताका रूपमा चिनियाँ कम्पनीहरू (विगतमा कोस्कोसहित)सँग ‘केही तुलनात्मक फाइदा’ छ ।

विशेषगरी भविष्यमा ‘भूराजनीतिक अवस्था सामान्य’ भएको अवस्थामा चिनियाँ कम्पनीहरूले अझ ठुलो भूमिका खेल्न सक्ने उनको भनाइ छ ।

त्यस्तो अवस्था आएमा ‘रुसी ध्रुवीय क्षेत्रमा थप लगानी गर्न चिनियाँ कम्पनीहरू रुसतर्फ जाने अर्को लहर आउनेछ,’ चाओले अनुमान गरेका छन् ।

कमेन्टहरु