काभ्रेपलाञ्चोकको मण्डनदेउपुरमा ‘टिबी स्क्रिनिङ’ अभियान: तीन जनामा पहिचान


काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले समुदायस्तरमा सञ्चालन गरेको ‘टिबी स्क्रिनिङ’ अभियानका क्रममा दुईवटा वडामा तीन जनामा क्षयरोग पहिचान भएको छ । नग स्वास्थ्य शाखाको आयोजना तथा जन्त्र नेपालको प्राविधिक सहयोगमा सञ्चालित अभियानमा स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ कार्यक्रमअन्तर्गत दुई वडामा तीन बिरामी पहिचान भएका हुन् ।
मण्डनदेउपुर नगरपालिका–१० स्थित चण्डेनीमण्डन स्वास्थ्यचौकीमा शुक्रबार सञ्चालित एनसिडी स्क्रिनिङ तथा एक्स–रेमार्फत टिबी स्क्रिनिङ कार्यक्रममा १२४ सेवाग्राहीले स्वास्थ्य परीक्षण गराएका थिए । परीक्षणका क्रममा शङ्कास्पद १४ जनाको खकारका नमुना सङ्कलन गरिएकामा दुई जना पुरुषमा सक्रिय क्षयरोग पुष्टि भएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
त्यसैगरी, वडा नं १२ स्थित ज्याम्दी स्वास्थ्यचौकीमा बिहीबार सञ्चालित शिविरमा १२१ जनाको छातीको एक्स–रे परीक्षण गरिएको थियो । परीक्षणका क्रममा एक जनामा क्षयरोग पहिचान भएपछि उपचारसमेत सुरु गरिएको नगर स्वास्थ्य शाखाप्रमुख दीपक घिमिरेले बताए । उनका अनुसार शिविरमा सहभागीमध्ये क्षयरोगको सम्भावना देखिएका थप छ जनाको खकार नमुना सङ्कलन गरिएकामा एक जनामा क्षयरोग पुष्टि भएको हो ।
समुदायमै पुगेर क्षयरोग पहिचान गर्ने र बिरामीलाई समयमै उपचारको पहुँचमा ल्याउने उद्देश्यले टिबी स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिएको नगरले जनाएको छ । प्रारम्भिक चरणमै रोग पहिचान गर्न सके उपचार प्रभावकारी हुने भएकाले समुदायस्तरमा नियमित स्वास्थ्य परीक्षण र स्क्रिनिङ आवश्यक रहेकाले अभियानका रूपमा लगिएको घिमिरेले बताउनुभयो । नगरद्वारा सञ्चालित उक्त अभियानअन्तर्गत दुई वडास्थित स्वास्थ्यचौकीमा आयोजित कार्यक्रमबाट २४५ जनाको परीक्षण, २० जनाको खकार नमुना सङ्कलन तथा तीन जनामा सक्रिय टिबी बिरामी पहिचान हुनु समुदायस्तरमा गरिने स्क्रिनिङ कार्यक्रमको प्रभावकारिताका रूपमा लिइएको जनाइएको छ ।
स्वास्थ्यकर्मीका अनुसार दुई साताभन्दा बढी समयसम्म लगातार खोकी लाग्ने, खोकीसँगै रगत आउने, ज्वरो आउने, राति अत्यधिक पसिना आउने, तौल घट्दै जाने, भोक कम लाग्ने, छाती दुख्ने तथा शरीरमा कमजोरी महसुस हुनेजस्ता लक्षण क्षयरोगका सम्भावित लक्षण हुन् ।






















