राजनीति

संसदीय राजनीतिमा युवाको हुटहुटी: ‘नमूना संसद अभ्यास २०८३

नवलपुर टुडे
२०८३ साउन २९ | मध्यान्ह १२:०४ बजे

नवलपरासी, साउन २९ । मुलुकमा नयाँ पुस्ताको राजनीतिक चासो र नीति निर्माणमा सहभागी हुने चाहना बढिरहेका बेला पश्चिम नवलपरासीको बर्दघाटमा पहिलो पटक ७० भन्दा बढी युवाहरू प्रत्यक्ष रूपमा सांसदको भूमिकामा उत्रिँदै उत्रिँदै छन्। । बर्दघाट युथ सर्कल र एजुकेट नेपाल इनिसिएटिभको संयुक्त आयोजनामा साउन ३० र ३१ गते आयोजना हुन लागेको नमूना संसद अभ्यास २०८३ को सम्पूर्ण तयारी पुरा भएको छ ।

स्थानीय तहदेखि राष्ट्रिय नीति निर्माणसम्म युवाहरूको सार्थक सहभागिता सुनिश्चित गर्ने उद्देश्यका साथ सञ्चालन गर्न लागिएको यस दुई दिने अभ्यासमा विभिन्न विद्यालय, कलेज तथा सामाजिक क्षेत्रमा क्रियाशील युवाहरूको बाक्लो उपस्थिति रहनेछ। सहभागी युवाहरूले साउन ३० गते दर्ता तथा अभिमुखीकरण तालिम प्राप्त गर्नुहुनेछ भने ३१ गते प्रत्यक्ष रूपमा संसद भवनकै झल्को दिने गरी संसदीय बहस, विधेयक प्रस्तुत गर्ने र कानुन निर्माण प्रक्रियाको व्यावहारिक अभ्यास गर्नुहुनेछ। उक्त तालिम प्रदान गर्नका लागि नेपाल ल क्याम्पसका विज्ञ प्रशिक्षकहरूको टोली बर्दघाट आइपुगिसकेको छ। समारोहमा जिल्लाका वर्तमान तथा पूर्व सांसद, पूर्वमन्त्रीहरू, प्रदेश सभा सदस्यहरू तथा विभिन्न सामाजिक र नागरिक संस्थाका प्रतिनिधिहरूको समेत गरिमामय उपस्थिति रहने आयोजकले जनाएको छ।

बर्दघाट युथ सर्कलका अध्यक्ष प्रसान्त गिरीले युवाहरूलाई केवल आश्वासनमा मात्र नभई व्यवहारमै नेतृत्वदायी भूमिकामा ल्याउन यो कार्यक्रम कोशेढुङ्गा साबित हुने बताउनुभयो। “हाम्रो मुख्य उद्देश्य युवाहरूलाई केवल आश्वासनमा मात्र होइन, व्यवहारमै नेतृत्वदायी भूमिकामा ल्याउनु हो। नवलपरासीको इतिहासमै पहिलो पटक हुन लागेको यो नमूना संसद अभ्यासले स्थानीय युवाहरूमा देशको शासन व्यवस्था, नीति निर्माण र लोकतान्त्रिक मूल्यमान्यताबारे गहिरो बुझाइ पैदा गर्नेछ। यसले भोलिका दिनमा योग्य र जिम्मेवार नेतृत्व जन्माउन महत्त्वपूर्ण आधार खडा गर्नेछ,” उहाँले भन्नुभयो।

राजनीतिप्रति युवापुस्तामा देखिएको वितृष्णा चिर्न यस्ता अभ्यास अनिवार्य रहेको बर्दघाट युथ सर्कलका मुख्य सल्लाहकार किशोर गैरेको भनाइ छ। “अहिलेको पुस्तामा राजनीतिप्रति जुन प्रकारको वितृष्णा वा अन्योल देखिन्छ, त्यसलाई चिर्न यस्ता व्यावहारिक अभ्यासहरू अपरिहार्य छन्। संसदीय व्यवस्था कसरी चल्छ, नीतिहरू कसरी बन्छन् र लोकतान्त्रिक बहसमार्फत कसरी समाधान निकालिन्छ भन्ने कुरा युवाहरूले आफैं सांसद बनेर अनुभव गर्नुहुनेछ। यो अभ्यास पश्चिम नवलपरासीका लागि मात्र नभई समग्र देशकै युवा आन्दोलनका लागि एउटा उदाहरणीय मोडेल बन्नेछ,” गैरेले जोड दिनुभयो।

शिक्षालाई व्यावहारिक र नागरिक चेतनासँग जोड्न कार्यक्रम आयोजना गरिएको एजुकेट इनिसिएटिभ नेपालका अध्यक्ष सुलभ खनालले बताउनुभयो। उहाँले भन्नुभयो, “शिक्षालाई केवल किताबमा सीमित नराखी व्यवहारिक र नागरिक चेतनासँग जोड्नु आजको आवश्यकता हो। काठमाडौंका विश्वविद्यालय र ल क्याम्पसका विज्ञ प्रशिक्षकहरूमार्फत प्रदान गरिने यो तालिमले युवाहरूको तार्किक क्षमता, भाषण कला र कानुन निर्माणसम्बन्धी समझलाई नयाँ उचाइ दिनेछ। हामी युवाहरूलाई सशक्त नागरिक र दूरदर्शी नेता बनाउने अभियानमा निरन्तर लागिपरेका छौँ।”

युवा सशक्तिकरण र प्रजातान्त्रिक अभ्यासको दिशामा यो कार्यक्रमले नवलपरासीबाटै नयाँ सन्देश दिने अपेक्षा गरिएको छ।

कमेन्टहरु