संखुवासभामा सामूहिक हत्या, चार ठाउँमा ६ जनाको शव


संखुवासभा । संखुवासभामा सामूहिक हत्या प्रकरणमा ६ जनाको शव चार ठाउँमा फेला परेको छ । त्यही आधारमा अनुसन्धानमा संलग्न अधिकृतहरुले उनीहरुको हत्या लखेट्दै लखेट्दै गरेको हुन सक्ने आशंका गरेका छन् ।
घटनास्थल पुगेका एक प्रहरीका अनुसार मादी नगरपालिका–१, खोलागाउँस्थित घरदेखि ५० मिटर पर रहेको खोल्सामा दुई जना महिलाको शव भटिएको छ भने घरबाट माथि पट्टी दुई जना बच्चाको शव भेटिएको छ। सो खोल्साबाट २५ मिटर पर पुरुषको शव भेटिएको छ । घरभित्र पनि अर्की एक महिलाको शव फेला परेको छ ।
‘ठाउँठाउँमा चप्पल पनि भेटिएका छन्, भाग्दा फुस्किएको हुनसक्छ’ एक अनुसन्धान अधिकृतले बताए । जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीले आफू घटनास्थलतिर जाँदै गरेको बताउँदै हत्याको कारण हालसम्म नखुलेको बताए । ‘कुकुरसहितको टोली पुगेपछि जाँच गरेर मात्रै विस्तृत अनुसन्धान हुनेछ’ उनले भने ।
घरमा एक जना वृद्ध मात्र सकुशल भेटिएका छन् । राम्रोसँग कान नसुन्ने उनी अर्धवेहोसी अवस्थामा रहेकाले प्रहरीले उनीसँग सोधपुछ गर्न सकेको छैन ।






















