देश

झापामा मार्तोलले प्रहार गरी भाइले गरे आफ्नै दाइको हत्या

जगत ठाडा मगर
२०७८ भदौ २१ | बिहान १०:०५ बजे

झापा । झापामा आफ्नै दाइको हत्या गरेको आरोपमा प्रहरीले भाइलाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–३ निवासी रतन राजवंशी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाका अनुसार आइतबार साँझ बिर्तामोड नगरपालिका–४ मा डेरामा बस्दै आएका अन्दाजी ५० वर्षीय भात्रु राजवंशी आफू सुत्ने कोठाभित्र मृत अवस्थामा फेला परेको सूचना प्राप्त भएको थियो ।

सोही सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतसमेतको टोली घटनास्थल पुगेर मृतकका छोरासँग सोधपुछ गर्दा आफ्नो काकाले मार्तोलले कुटपिट गरेर फरार रहेको बताएका थिए ।

प्रहरी टोलीले त्यसपछि राति ९ बजे ३७ वर्षीय रतन राजवंशीलाई आफन्तको घरबाट हत्यामा प्रयोग भएको मार्तोलसहित पक्राउ गरेको थियो । उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।

आज झापा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान गरिने प्रवक्ता थापाले जानकारी दिनुभयो ।

कमेन्टहरु