देश

मकवानपुरका १०२ वडामा कांग्रेस अधिवेशन : अधिकांशमा सर्वसम्मत, १३ वडामा निर्वाचन

जगत ठाडा मगर
२०७८ भदौ २१ | बिहान ०९:०५ बजे

मकवानपुर । मकवानपुरका सबै वडामा नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ ।आइतबार बिहानैदेखि जिल्लाका सबै वडाहरूमा सुरु भएको अधिवेशन आइतबार राति नै सकिएको हो ।

जिल्लाका १० वटै स्थानीय तहका १०२ वटै वडामा एकैसाथ सुरु भएको वडा अधिवेशन विवादरहित तवरले सम्पन्न भएको र क्रियाशील नेतृत्व चयन गर्न सफल भएको नेपाली काँग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

उनले वडा कमिटी काँग्रेस पार्टीको मूल जग भएकोले सबै वडाहरूमा सौहार्दताका साथ नेतृत्व चयन गर्ने गरी सबै क्रियाशील सदस्यहरूलाई जिम्मेवारी दिएको बताए । मकवानपुरको ८ वटा गाउँपालिका एक नगरपालिका र एक उपमहानगरपालिकाका १०२ वटा वडा मध्ये १३ वटा वडामा निर्वाचन मार्फत् नेतृत्व चयन भएको कोइरालाको भनाइ छ ।

गाउँ क्षेत्रका अधिकांश वडाहरूमा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको भए पनि नगर क्षेत्रका केही वडामा निर्वाचन गराउनु परेको प्रवक्ता कोइरालाले बताए । उनका अनुसार हेटौँडा उपमहानगरपालिकाको १९ वटा वडामध्ये ७ वटामा निर्वाचन गर्नु परेको थियो भने गाउँ क्षेत्रका ६ वटा वडामा पनि निर्वाचन भएको थियो ।

निर्वाचन प्रक्रिया विवाद रहित रूपमा सम्पन्न गरी वडा कमिटीमा नयाँ क्रियाशील र जुझारु युवा नेतृत्व प्रदान गरिएको उनको भनाइ छ । वडा अधिवेशनबाट हाल परिमार्जित भएको संरचना अनुसार समावेशीतर्फका सदस्यसहित वडा प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि र बुथ प्रतिनिधिसहित करिब २ हजार जना नेतृत्वको लागि चयन हुने उनले बताए ।

वडा अधिवेशनमा नयाँ ५ हजार ३०० जना र पुराना ४ हजार २४२ जना गरी ९ हजार ५४२ जना क्रियाशील सदस्य सहभागी भएको कोइरालाले जानकारी दिए ।

कमेन्टहरु