देश

भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाउँदा गृह मन्त्रालयको आपत्ति

जगत ठाडा मगर
२०७८ भदौ २१ | बिहान ०९:०५ बजे

काठमाडौं । गृह मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकोमा घोर आपत्ति जनाएको छ ।
photo 2021 09 06 09 03 59

आइतबार विज्ञप्ति जारी गरी मन्त्रालयले छिमेकी राष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी पुत्ला दहन गरेकामा गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको हो । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ ।’

दार्चुलामा नेपाली नागरिक तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनालाई लिएर नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको थियो ।

गृह मन्त्रालयले मित्रराष्ट्रहरु विरुद्ध लक्षित हुने गतिविधि नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्नलाई कारबाही गरिने पनि जनाएको छ ।

विज्ञप्तिमा उल्लेख गरिएको छ ‘नेपाल सरकार सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनै पनि राष्ट्रविरुद्धका गतिविधि हुन नदिने विषयमा कटिवद्ध छ । मित्रराष्ट्रहरुसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गरिन्छ’।

कमेन्टहरु