प्रमुख प्रतिपक्षी दल एमालेसँग दूरी घटाउने देउवाको नीति


काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको दूरी घटाउने नीति लिएको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा सघाउन एमालेलाई सरकारले अनौपचारिक रूपमा प्रस्तावसमेत गरेको छ ।
सर्वोच्च अदालतको परमादेशबाट २८ असारमा प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले सरकार र प्रतिपक्षबीचको दूरीलाई घटाउने गरी रणनीति बनाएका हुन् । त्यसका लागि आन्तरिक रूपमा प्रधानमन्त्री देउवाले आफू निकट नेताहरूलाई प्रमुख प्रतिपक्षीसँग संवादका लागि खटाएका छन् ।
यसअघि प्रधानमन्त्री रहँदा केपी शर्मा ओलीसमेत एमसीसीको पक्षमा रहेको थियो । ‘प्रधानमन्त्री देउवा सरकार र प्रमुख प्रतिपक्षबीचको दूरी कम होस् भन्नेमा हुनुहुन्छ, त्यहीअनुसार उहाँले पूर्वप्रधानमन्त्री ओलीसँगको संवादलाई आफू निकटका नेतामार्फत अघि बढाइरहनुभएको छ, मुख्य विषय संसद् र एमसीसीसँग जोडिएको छ,’ प्रधानमन्त्री देउवानिकट उच्च स्रोतले बतायो ।
देउवाले सरकार र प्रतिपक्षबीचको दूरी कम गर्ने उद्देश्यसहित १५ भदौमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमाले अध्यक्ष ओलीसँग भेट गर्न उनको निवास बालकोटमा पठाएका थिए । सोही दिन नै कार्कीले एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई समेत एमाले संसदीय दलको कार्यालय पुगेर भेटेका थिए ।
नेम्वाङसँगको भेटघातपछि कार्की ओलीलाई भेट्न पुगेका थिए । ‘प्रतिपक्षसँग सम्बन्धबारे कुराकानी गर्न कानुनमन्त्रीज्यू आउनुभएको थियो, त्यसपछि अध्यक्षजीसँग पनि छलफल भयो, सरकार र प्रतिपक्षबीचको वर्किङ रिलेसनका विषयमा कुराकानी भएका हुन्, एससीसीका विषयमा पनि कुरा आए,’ नेम्वाङले भने ।
नेम्वाङले एमालेले एमसीसीका विषयमा गठबन्धनमा रहेका दलहरूको धारणा आएपछि मात्र राय दिने जवाफ दिएको जानकारी गराए ।






















