“मुक्तक”

जगत ठाडा मगर
२०७८ भदौ २० | मध्यान्ह ०८:०५ बजे

१. बाझो रहेका जमिनहरु खेती गरे कसो होला
मिहेनत गरि पसिनाको बीउ छरे कसो होला
अर्काको देशमा जानू भन्दा आफ्नै देशमा नै
दश नङग्रा खियाएर भकारी भरे कसो होला
२. तिमि सँग कुनै गुनासो छैन प्रिय
नाता टुटिसक्यो कुनै चासो छैन प्रिय
तिम्रो र मेरो बाटो अलग भए लगत्तै
यो मेरो मुहारमा कुनै हाँसो छैन प्रिय
३. एक अर्को देशमा युद्ध चलेको छ
जातीय विरुद्धको आगो बलेको छ
जहाँ तहिँ त्रास मात्र के हुँदै छ यस्तो
हरेक मानिसहरुको मन जलेको छ
४. सुखको मुहार मैले, कहिले होला फेर्ने
उन्नति प्रगती भएको कहिले होला हेर्ने
गरिबीले गर्दा जिन्दगी दु:खमै बित्ने भो
यो भाग्यलाई कलमले कहिले होला केर्ने
सम्झना थापा मगर
पु.ब.न.पा – ७ साधीँखोला स्याङ्जा






















