भूगर्भविद्को चेतावनी : चुरे पहाडमा ठूला भौतिक पूर्वाधारका विकास नरोके बुटवल दोस्रो मेलम्ची बन्न सक्छ


बुटवल । गत आइतबार र सोमबारको अविरल वर्षाले बुटवलको शिरमा रहेको चुरे पहाडमा पहिरो गयो । उक्त पहिरो बुटवलको ज्योतिनगरको बस्तीमा पस्यो ।
पहिरोले बस्तीका १ दर्जन घरमा क्षति पुर्यायो र ती परिवार विस्थापित भए । साथै ४० घर उच्च जोखिममा परे । बुटवल-३ ज्योतिनगरमा यसअघि २०५५ सालमा पनि ज्योतिनगरको चुरेको पहाडमा पहिरो गएर ५७ घर पुरेको थियो । पहिरोले विस्थापित परिवारलाई बुटवलको तामनगरमा जग्गा व्यवस्थापन गरी स्थानान्तरण गरिएको थियो ।
त्यतिबेलै भूगर्भविद्हरुले ज्योतिनगरको चुरेलाई नचलाउनू, एक चिम्टी माटो पनि ननिकाल्नू भनेर सचेत गराएका थिए । तर, स्थानीय सरकारले यसलाई वास्ता गरेन । केही वर्षपछि पहिरो गएको स्थानमा नयाँ व्यक्तिले खोला र वन नै अतिक्रमण गरी घर बनाएर बस्न थाले । स्थानीय सरकारले चुरे क्षेत्रमा सडक, विद्युतलगायतका पूर्वाधारहरुको विकास गर्न थाल्यो ।
त्यसपछि भूकम्पका कारण पनि चुरे पहाड चिरिएर धांजा फाटेको छ, माथिल्लो भेगबाट बगेर आउने पानी चिरिएको ठाउँमा पस्दा चुरे क्षेत्र कमजोर बन्दै गएको छ । अहिलेको पहिरो र पहिरोले पुर्याएको क्षति त्यसकै परिणाम भएको भूगर्भविद्हरु बताउँछन् । अहिले त झन् चुरे क्षेत्रमा अर्बौंको केबुलकारको परियोजना सुरु भएको छ ।
पहिरोको उच्च जोखिममा परेको ज्योतिनगरको छेउमै स्टेशन बनाएर बुटवल-बसन्तपुर केबुलकार निर्माण गर्ने गरी गत फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । राष्ट्रपति तराई-मधेश चुरे संरक्षण विकास समिति कार्यालय बुटवलका प्रमुख अजय कार्कीले चुरे क्षेत्र अति नै संवेदनशील र कमजोर हुने भएकाले ठूला भौतिक पूर्वाधार थेग्न नसक्ने बताउँछन् ।
‘चुरे क्षेत्रमा वन र खोला नै अतिक्रमण गरी सडक, पार्क, मन्दिरहरु, फुट ट्रेल बनेका छन्,’ कार्कीले भने, ‘यसै पनि संवेदनशील र कमजोर भूगोलमा यसरी पुर्वाधार बनाइरहनुले चुरे क्षेत्र खल्बलिएको छ र जुनसुकै बेला अकल्पनीय क्षति ब्यहोर्नुपर्ने हुन सक्छ ।’ चुरे वन क्षेत्रमा भौतिक पुर्वाधार बनाउनै नहुने कार्कीको सुझाव छ ।
‘वन र खोला अतिक्रमण नरोक्ने र पुर्वाधार निर्माणका काम पूर्णरुपमा नरोक्ने हो भने बुटवल दोस्रो मेचल्ची बन्न सक्छ’ कार्की भन्छन् ‘पहिरो रोक्न करोडौं खर्चेर पर्खाल लगाउनु भन्दा बस्ती स्थानान्तरण उपयुक्त हो।’ भुगोल विषयका प्राध्यापक डा.भोजराज कडेरियाले मानवीय अतिक्रमण नरोकिए बुटवलको ज्योतिनगर र लक्ष्मीनगरको पुरै पहाड खस्न सक्ने खतरा रहेको औल्याउछन् ।
‘ज्योतिनगर र लक्ष्मीनगर बस्ती पहाड नै धस्सिएर बसेको हो’ कडेरिया भन्छन्, ‘यसलाई चलाउन हुन्न, चलायो भने भारी वर्षा हुँदा जुनसुकै बेला पहाडै बग्न सक्छ ।´






















